श्रमिक वर्गलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन सरकारलाई आग्रह

बिएल संवाददाता

काठमाडाै‌ं

उपराष्ट्रपति नन्दकिशोर पुनले श्रमिक वर्गलाई केन्द्रमा राखेर आगामी नीति, कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले कोरोनाका कारण श्रमिकको दैनिकी कठिन बनेकोले उचित ध्यानदिनु पर्ने बताए।

‘कोरोनाले अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका नेपालीले पनि रोजगारी गुमाउन सक्ने भएकोले त्यसबाट उत्पन्न हुने बेरोजगारी र देशको अर्थतन्त्रमा पर्ने प्रभावबारे ध्यान दिइ तयारी गर्नुपर्छ,’उनले भनेका छन्। 

श्रमिक मजदुरहरुको हकहितका लागि भएका संवैधानिक व्यवस्थाको कार्यान्वयनलाई यतिबेला अझै प्रभावकारी बनाउनु पर्ने उनको भनाइ छ ।

यता राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जन गर्न पाउने सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्ने बताए। 

विभिन्न आरोह अबरोह पार गर्दै आफ्ना अधिकारहरु स्थापित गराउन सफल श्रमिक तथा मजदुर वर्ग अहिले कोरोनाको महामारीका कारण सबैभन्दा बढी समस्यामा परेको भन्दै राहतका विशेष कार्यक्रम ल्याउन सरकार समक्ष अनुरोध गरे।

‘एकातिर महामारीका कारणले देश विदेशमा रहेका श्रमिक तथा मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्था आएका छ भने अर्कोतिर उनीहरुले आफ्नो दैनिक जिविकोपार्जनमा कठिनाई भोग्नुपरेको छ। यस अवस्थामा राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतीका लागि महत्वपूर्ण भूमिका रहेको श्रमिक तथा मजदुर वर्गको स्वरोजगार, जिविकोपार्जन, रोजगारी तथा राहतका विशेष कार्यक्रम ल्याउन सरकार समक्ष अनुरोध गर्दछु,’उनले भने।

सम्पूर्ण श्रमिक तथा मजदुरहरुलाई यस संकटको घडीमा धैर्यधारण गरी आफू रहेको ठाउँमा सुरक्षित बस्न आग्रह गरे।

प्रकाशित मिति: : 2020-05-01 09:52:24

प्रतिकृया दिनुहोस्