हिँडेरै भारत फर्कदै

विनोद ढुंगाना

दुलेगौँडा(तनहुँ) - लकडाउन भएको पाँच हप्ता भयो। कहिले खुल्छ यसको ठोस जवाफ कसैसँग छैन। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न गरिएको लकडाउनले ज्याला मजदुरी गर्नेहरुले काम गर्न पाएका छैनन्। 

काम नपाएपछि गोजीमा भएको दाम सकिदै गएको छ।  लकडाउन खुल्छ कि भन्ने आशमा बसेका ६२ बर्षिय वलदेव शाहले पैदलै भए पनि भारत फर्कने निधो गरे। 

स्याङजाको बाँडखोलामा कवाडीको काम गर्दै आएका उनीसहित १३ जनाको समुह बुधबार विहान भारतको मोतिहारी पठायीथानाको यात्रामा निस्किएको छ। विहान सात नबज्दै हिँडेको समूह डाँडाकाँडा छिचोल्दै दिउँसो तीन बजे तनहुँँको दुलेगौँडासिथ्त पृथ्वीराजमार्ग आइपुगे। पोखरा हुँदै आएको भए दुई दिनमा बल्ल यहाँ आइपुग्थे।

तर, कोल्मातिरको छोटो बाटो हिँडेका उनीहरु छिट्टै डाँडाकाडा छिचोल्दै राजमार्गमा आए। 

चर्को घाममा राजमार्गको छेउमा रुखको छाहारीमा सुस्ताउदै गर्दा उनीहरु भेटिए।  प्रायले मुखमा मास्क लगाएका थिए। मास्क नहुनेले गलामा भिरेको गलबन्दीको सर्कोले मुख छोपेका थिए। ८ घण्टाको हिँडाइले लखतरन परेका उनीहरु सबैको साथमा एउटा झोला छ। झोलामा बाटोमा खान पुग्ने चाउचाउ विस्कुट र चिउरा हालेको बताउँछन्। केही जोर कपडा पनि छ।  

भारतको मोतिहारी हिँडेको उक्त समूहमा बालकदेखी बृद्धसम्म छन्।पैदलै पुग्ने अठोट छ। करिब चार सय किलोमिटरको दुरीमा पर्ने मोतिहारी हप्ता÷ दश दिनमा दिनमा पुग्ने उनीहरुले जनाए। 

प्रकाशित मिति: : 2020-04-30 17:50:55

प्रतिकृया दिनुहोस्