धनुषा मिथिला नगरपालिका–७ ढल्केवरका दिलिप साह पेशाले सवारी चालक हुन्। कोरोनाको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेपछि गाउँमै थन्किएका दिलिपको केही साथीसँग फूलवारीतिर टहलिनु दिनचर्या बनिसकेको छ।
बढ्दो गर्मीसँगै फूलवारीमा सुस्ताइरहेको दिलिपको समूहले एकदिन बारीमा दुर्लभ बन्दै गएको निलगाई मस्तले चरिरहेको दृष्य देख्यो। दिलिपको समूहले बारीमा निलगाई देखेको कुरा ‘एक कान दुई कान’ हुँदै मैदान बन्यो। अनि मेलापात र गोठाला जाने गरेका गाउँलबीच सुरु भयो, एकआपसले खेतखलियानमा वन्यजन्तु देखेका कुराकानी।
दिलिपको समूहले निलगाई देखेको हल्लीखल्ली चलिरहँदा खेतबारीतिर अरुले पनि धेरै किसिमका वन्यजन्तु चर्न आउने गरेको देखेका रहेछन्। यसैबीच मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले पनि पर्यटकीय स्थल बन्दै गएको मिथिला तालमा मयूर र वन कुखुरा चर्न आउने गरेको सुुनेका थिए तर लकडाउनका बेला आफ्नै आँखाले देखे पनि।
मिथिला नगरपालिकासँगै सीमा जोडिएको महोतरीको बर्दिवास नगरपालिका–६ किशनानगरका राजेश्वर सिंहले पनि खेतबारीमा बँदेलको समूह चर्न आएको दृष्य लकडाउनपछि देखे। खरायो, मृगका बथान खेल्दै चरेको दृष्य पनि राजेश्वरले यसै समयमा देखेका हुन्। लकडाउनको शान्त समयावधिमा मधेशका ग्रामिण भेगमा प्रशस्त वन्यजन्तु देखिन थालेपछि यति बेला मधेशमा वन्यजन्तु बढ्दै गएको ‘भुसको आगो झैँ’ सल्किएको छ।
फुलगेन साहले क्यारेन्टाइनबाटै भनेः मधेशमा फेरि वन्यजन्तु बढे
लकडाउनपछि आफ्नै घरमा क्वारेन्टाइनमा छन् फुलगेन साह। ७० वसन्त पार गर्दै गरेका फुलगेन निकै पुरानो भारतीय सन्तोष कम्पनीको रेडियोबाट आउने रेडियो नेपालको समाचार र घटना र बिचारका नियमित श्रोता हुन्। कोरोनाको सम्भावित संक्रमणले महामारीको रूप लिने होकि भनेर निकै चिन्तित देखिन्छन् फुलगेन। कोरोना कहरले मथिङ्गल घुमिरहेका बेला आफ्ना विगतका विस्मृतीहरु फुलगेनका आँखाअगाडी नाच्न थालेका छन्। कोरोना जस्तै धेरै महामारी नेपालले झेल्दै आएको प्रसंगबाट सुन्दै तिलस्मी झैँ लाग्ने विगतका भोगाई सुरु गरे फुलगेनले।
धनुषाको ढल्केवर(हालको मिथिला नगरपालिका–७) मा ५० रुपैयाँ कट्ठाको दरले जग्गा किनेर घरजम गरेको त्यो समय फुलगेनको मस्तिष्कमा अझै ताजा छ। एउटा छिप्पिएको भाले र केही मठिया(माटोले बनाइएको सानो खालको केही घ्याम्पा–घैला) घरायसी रक्सिले दौतरीसँग पार्टीहरु गर्ने गरेको त्यस बेलाका घटनाले बेलाबेलामा रोमाञ्चित बन्छन् उनी। महेन्द्र राजमार्गमा पहिलो चोटी चलेको गोईन्का बसलाई चारआना पैसा चढाएर ढोग गरेका थिए, गाउँका बुढापाकासँग उनले। पैसा नहुँदा बस चढ्ने उत्कट उनको चाहना त्यतिबेला पुरा भएन।
हो, त्यति बेलाकै समयमा पानी लिन र लुगाफाटा धुन बिहान झिसमिसेमा राँको बालेर सिलभरका वर्तन ठटाउँदै गाउँदेखि करिब चार किलो मिटर उत्तरदिशामा रहेको औरही खोला जाने गरेको गाउँलको लाममा फुलगेन पनि हुन्थे। किनभने घना जंगलमा बाघको बिगबिगी हुने भएको त्रसित गाउँलेहरु ज्यान जोगाउन राँको बालेर वर्तन ठटाउँदै औरही पुग्नुको विकल्प थिएन।
यो जुक्ति नअपनाऔं धेरैलाई उतिबेला बाघले खाएको थियो, औरही खोलाको गरतिर। धेरै गाईभैँसी र बाख्रापाठालाई पनि बाघले खाएको थियो, उ बेला।
बाघमात्र होइन, त्यति बेला जंगली जनावरको छ्यासछ्यास्ती थियो ढल्केवरको जंगलमा। औरहीको धोवे, विरे, जरायोटार, भालु खोली र सानोवसी अनि ठूलोवसी खोलामा प्रशस्त थिए बाघ, भालु, खरायो, जरायो, मृग र हरिणहरू। डाँफे, मयूरहरु पानी खान औरही खोलातिर निस्कँदा समूहमै नाच्ने गर्थे। वन कुखुराको वथान उस्तै। बाँदर धेरै लाग्ने भएकाले बारीमा अनिवार्य टौवा बनाउनु पर्थ्याे र पालो गरेर रुँग्ने चलन थियो, टिन ठटाउँदै। खैनी मोलेर बिगत सम्झँदै गरेका फुलगेन साहले त्यति बेलाका ढुकुर, रुप्पी र सुँगा लगायतका वन्य पशुपंक्षीको पनि बयान गर्न भ्याए। दुम्सि र निलगाई जताततै देखिन्थे।
बडेमानका सर्पहरूले नाँगे डाँडामा यौनक्रिडा गरेका दृष्य गोठालाहरूले नदेखेको दिन कमै हुन्थ्यो। ‘के कुरा गछौँ, लाटो कोसेरो र कछुवा त जताजतै भेटिन्थ्यो,’ मोलेको खैनी तल्लो ओँठमा चेप्दै फुलगेनले भने।
त्यस समय लक्का जवान थिए फुगलेन। चामलको भात खान पाउनु ठूलो कुरो थियो। साबुन सहज उपलब्ध हुँदैन थियो। ढल्केवरवासीको किनमेल गर्ने मुख्य थलो नजिकैको चौलिखा बजारमा सावुन पाइन्थ्यो। पाँच पैसामा पाइने खुल्ला साबुन किन्न सँधै पैसा हुँदैन थियो। गाउँले युवाहरु कमेरो माटोले नुहाउन र जुम्रैजुम्राको जंगल बनेको बर्षमा एकपटक पाइने कटु र गञ्जि धुन औरही खोला धाउनेको जमातमा फुलगेन पनि हुन्थे। पालो गरेर वन्यजन्तुको सेन्ट्री बसेर उनीहरू लुगा धुन्थे, नुहाउँथे औरही खोलामा। घुँडासम्म बहने औरहीखोलाको संगलो पानीले औरही खोला एक तमासले सुसाइरहन्थ्यो। भूरा माछा प्रशस्त पौडिरहेका हुन्थे।
‘त्यति बेलाको कुरा नगरौँ,’ फुलगेन बेलिविस्तार लाउँदै गए, ‘चामल पाइँदैन थियो, मकै, लहरी, फर्सी, अलुवा(सुठुनी) प्रशस्त हुन्थ्यो। उसिनेको फर्सी र लहरीको दालको स्वाद अझै जिब्रोमा झुण्डिरहेको छ। दूधदहीको त झन कुरै नगरौँ। बेच्न बजार थिएन। धेर भएको दूध दही मल थुपारेको ठाउँमा फालिन्थ्यो।’
समयकाल बद्लिदै गयो। खेती गृहस्थी गरेर पारिवारीक गर्जो टार्दैआएका सुकदेव साहका छोरा फुलगेनले विवाह गरेपछि छोराछोरी जन्मदै गए। साहले नुहाउने औरही खोलाबाट धेरै पानी बग्यो। गाउँहरु घना बस्तिमा रुपान्तरण हुँदै गए। जंगल फँडानी सुरु भयो। परिवारको गर्जोटार्न फुलगेनले पनि दाउराको ब्यापार सुरु गरे। परिवार चलाउन जंगल धाउनेमा फुलगेन मात्रै थिएनन्। फुलगेनसँगै काठको गोरुगाडा लिएर जंगलबाट लकडी ल्याएर सखुवा बजारमा बेच्नेको लर्को बढ्दै गयो।
अनि मासिए वन्यजन्तु
हाे, यही समयबाट जंगली वन्यजन्तु र पशुपंक्षीका दूरदिन पनि सुरु भए। वन मासिदै गयो। शिकारीको बन्दुकको निशानमा हरिण, मृग, जरायो, बँदेल र खरायो पर्न थाले। औरही खोला सुक्यो। मान्छेलाई कायल बनाउने बाघ भालुको संख्यालाई दाउरे र घाँसेको समूहले विस्थापित गर्दै गयो। मयूर देखिनु एकादेशको कथाजस्तै बन्न थाल्यो। खडेरी सुरु भयो। अन्नपात फल्न छाडे। टमाटर(गोलभेडा) मात्रै उब्जनी हुन थालेपछि गाउँलेहरु टमाटरबाटै जीवन धान्नु पर्ने अवस्थामा पुगे। बजार बढेकाले मालवस्तुहरु पनि बेच्ने चलन सुरु भएकाले हुलका हुल गाईवस्तु सकिदै गए। ‘दूध दही खान पाउनु सपनाजस्तै भयो। मकैको फ्याफ्लो र टमाटरको अचारले बिहानवेलुकीको हातमुख जोड्नु पर्ने अवस्था आयो,’ सेतै कपाल फुलेका तलतिरपट्टिको दुवै दाँत झरिसकेका थोते फुलगेनले सुनाए।
र फेरि बढे वन्यजन्तु
तर अहिले फेरि समय फेरिएको छ। औरही र जलाद खोलामा फेरि पानी बहन थालेको छ। सरकारले काठ काट्न रोक लगाएपछि जंगल बढ्दै जाँदा वन्यजन्तु पनि बढ्न थालेका छन्। हात्तीले बर्षेनी ढल्केवरमा क्षतिमात्रै पुर्याउँदै आएको छैन, २ जनाको त ज्यानै लिइसकेको छ। वन कुखुरा र मयूरका बथानहरु प्रशस्त देखिन थालेका छन्।
मृग र खरायो जरायाे जताततै देखिन थालेका छन्। दुम्सी, खरायो, बँदेल र निल गाई मधेशका खेत खलियानमा प्रशस्त देखिन थालेका छन्। ढल्केवरमा मात्रै होईन जंगल क्षेत्रबाट कोषौँ टाढा रहेका गाउँका खेतवारीमा पनि वन कुखुरा, बँदेल र निल गाई समूह समूहमा देखिन थालेका छन्। किसानलाई क्षती पुर्याउन सक्ने भनेर प्रशासनले वँदेल मार्न छुट नै दिएको छ। सुँगा, ढुक्कुर, रुप्पी र जुरेलीहरु खेतखलियानका फूलबारीमा देखिन्छन्।
उखु खेती गरिएको ठाउँमा दुम्सीहरु अड जमाएर बस्न थालेका छन्। बाघ र भालुहरु भने अझैसम्म नदेखिएको फुलगेनले बताए। बाँदरहरु पनि फाट्फुट् देखिन थालिएका छन्।
५ भाई छोरा र दुई बहिनी छोरीका पिता फुलगेन वन्यजन्तुको मामलामा मधेश फेरि पुरानै लयमा फर्कन थालेको बताउँदै भन्छन्, ‘वन्यजन्तु र पशुपंक्षी संरक्षणमा स्थानीय सरकारले बलियो कानुन नै बनाएर बिशेष अभियान सुरु गर्न जरुरी छ। मानवीय क्षती हुन नदिन वन्यजन्तुलाई जंगलबाहिर निस्कन नदिन सवै उपाय अपनाउनु पर्छ।’
संरक्षणमा स्थानीय सरकार
औरही खोला छेउमै रहेको पोखरीमा पानी खान र चर्न आउने मयूर र वन कुखुरा नाचेको देखेका मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो वन्यजन्तु संरक्षणका लागि नगरपालिकाले प्याकेजसहितको कार्यक्रम घोषण गर्न लागेको बताउँदै भन्छन्, ‘वन्यजन्तुको शिकारलाई पूर्ण वन्देज गरेर खेतबारीमा वन्यजन्तुलाई आउन नदिने वातावरण बनाउने योजना मधेशका स्थानीय तहले सामूहिक योजना बनाउने तयारी गरिरहेका छौँ, यसमा सवैको सहयोगको जरुरी छ।’ लकडाउनका बेला अति विपन्न परिवारलाई खाद्य सामाग्री वितरणमा ब्यस्त मेयर महतोको यो भनाईले पनि मधेशमा वन्यजन्तु बढेको पुष्टि हुन्छ।
santoshbaraili@gmail.com