प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा : नेपाल समूह, मन्त्रिपरिषद् पुनर्गठन र मुख्यमन्त्री हेरफेरमा सहमति गरौं : ओली समूह

शुरोजङ्ग पाण्डे

नेकपाभित्र उत्कर्षमा पुगेको विवाद समाधान गर्न नेताहरूले वार्ता तीव्र बनाएका छन् । चरणबद्ध रूपमा भएका वार्तामा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव गरेको छ । ओली समूहले भने मन्त्रिपरिषद् पुनर्गठन र मुख्यमन्त्री हेरफेर गरेर सहमति गर्न खोजेको छ । 

विवाद समाधान गर्न प्रधानमन्त्री ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सक्रिय छन् । ओली समूह र नेपाल समूहका नेताहरूबीच सोमबार कोटेश्वरस्थित वन पैदावारको कार्यालयमा साढे चार घन्टा छलफल भएको थियो । अर्को समूहको तर्फबाट नेता नेपाल स्वयं, भीम रावल, सुरेन्द्र पाण्डे र रघु पन्त सहभागी थिए । छलफलमा महासचिव महासचिव विष्णु पौडेलले पनि भाग लिएका थिए । 

पार्टी र आन्दोलनको नेतृत्व गरेर यहाँसम्म आएको हुनाले माधव नेपालले संयमित भएर समझदारी निर्माणको अगुवाइ गर्न ओली समूहका नेताहरूले आग्रह गरेका थिए । मुख्यमन्त्री पोखरेलले पार्टी एकता बचाएर लैजान पनि अहिलेको अवस्थामा कम्तीमा पनि पूर्वएमाले समूह एकैठाउँ उभिनुपर्ने भन्दै त्यसका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका थिए । तर, माओवादीसँग एकीकरण हुनुअघिदेखि नै गुटका आधारमा पार्टी नेताहरूलाई हेप्ने र पाखा लगाउने काम हुँदै आएकाले अहिलेको अवस्था सिर्जना भएको नेपालको भनाइ थियो ।

प्रकाशित मिति: : 2020-04-28 07:59:07

प्रतिकृया दिनुहोस्