जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखी भोलिको अर्थराजनीतिक व्यवस्थाको पुनर्मूल्यांकन र पुनर्विचार गरी नयाँ रणनीतिका साथ अघि बढ्नु नै आजको आवश्यकता हो। काोभिड —१९ बाट भूमण्डल नै प्रभावित भएको छ। त्यसको प्रभाव नेपालमा पनि परी लकडाउन अथवा गृहवासमा परेको बेला आजको जीवनरक्षा तथा भोलिका दिनमा समाज तथा अर्थराजनीति र विकासको गति अगाडि बढाउन के गर्नु उपयुक्त होला भनी आफ्ना विचार प्रस्तुत गर्ने प्रयास गरेको छु।
थलिएको अर्थतन्त्रलाई अस्पतालको शैय्याबाट बाहिर ल्याउन र अलमलमा परेको सामाजिक मनोविज्ञान एवं व्यवहारलाई उत्पादक र सकारात्मक बनाउन संविधान, शासन प्रणाली तथा संगठनात्मक संरचनाको समेत पुनर्आकारीकरण (रिसाइजिङ) र पुनर्दिशाकरण (रिडाइरेक्टिङ) गर्नुको विकल्प छैन। यस सन्दर्भमा कोभिडको प्रभावको मूल्यांकन गर्दै, अन्तर्राष्ट्रिय मुद्रा कोषले कोभिड—१९ यो वर्ष (२०२०) को आधा अवधिसम्म रहेमा पनि सन् २०२० को विश्व आर्थिक वृद्घि माइनस तीन प्रतिशतमा झर्ने प्रक्षेपण गर्यो। २०१९ का लागि यो वृद्घि २.९ प्रतिशत थियो। त्यसैगरी अन्य प्रमुख अर्थतन्त्र अमेरिका, युरो क्षेत्र, जापान र बेलायतको आर्थिक वृद्घि क्रमश ः ५.९, ७.५, ५.२ र ६.५ का दरले नकारात्मक हुने प्रक्षेपण गरेको छ, चीन र भारतको भने क्रमशः १.२ र १.९ का दरले सकारात्मक वृद्घि हुनेछ। यसले कोभिड—१९ को कारण विश्वमा ९० खर्ब डलरको नोक्सानी हुने तथ्य पनि प्रकाशमा ल्याएको छ। कोषले नेपालको वृद्घिदर २.५ प्रतिशतमा खुम्चिने र मुद्रास्फिति ६. ७ प्रतिशत पुग्ने अनुमान गरेको छ।