अपहरणकारी जोगाउँदै प्रहरी

शिवहरि घिमिरे 

सामाजिक सन्जालमा लेखेको विषयलाई लिएर सर्वसाधारणलाई सताउने प्रहरीले अपहरणसम्बन्धी गम्भीर आरोपको उजुरी दर्ता गर्न इन्कार गरेको छ। आफू अपहरणमा परेको भन्दै आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका  सांसद डा. सुरेन्द्र यादवको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको हो। 

सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न यादवसँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेता महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए।

खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने खेलमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए। प्रधानमन्त्रीले लिन पठाएको भन्दै उनीहरुले आफूलाई अपहरणशैलीमा जबरजस्ती काठमाडौं ल्याएको यादवको भनाइ छ। 

यादवसहितका नेता र प्रहरीबीच तीन घण्टासम्म छलफल भए पनि प्रहरीले अपहरणसम्बन्धी जाहेरी लिन मानेन। दर्ता गर्न इन्कार गरिएको जाहेरीमा खनाल, श्रेष्ठ र बस्नेतमाथि मुलुकी ऐनमा व्यवस्था भएअनुसार कानुनी कारबाही माग गरिएको छ। आइतबारदेखि नै परिसरको जिम्मेवारी समालेका एसएसपी श्यामलाल ज्ञवालीले आफ्नो क्षेत्राधिकारभित्र यो मुद्दा नपर्ने प्रतिक्रिया दिँदै दर्ता गर्न इन्कार गरेका हुन्। 

प्रकाशित मिति: : 2020-04-27 08:24:35

प्रतिकृया दिनुहोस्