काँग्रेस नेता सिटौलाको छोराको विवाह, जन्ती पाँचजना

वैशाख महिना विवाह गर्ने एक उत्तम महिना।  यो महिना विवाह गर्न धेरैले पहिले नै मिति तोकिसकेका थिए, कतिले तोक्ने तयारीमा थिए । बैशाख सुरुहुनु अगावै कोरोना भाईरस महामारीले धेरैको भव्य रुपमा विवाह गर्ने योजना केवल कल्पनामा मात्रै सिमित रहने अवस्था बन्यो।

देशको सम्पूर्ण क्षेत्रमा भएको बन्दाबन्दी सँगै भाईरस फैलने जोखिमलाई कम गर्न सरकारले २५ जना भन्दा धेरै भेला भएर कुनै पनि सामाजिक, घरायसी कार्यक्रम नगर्न गरेको उर्दी, सचेतना अनुसार पूर्व तय भएका कार्यक्रमहरु धेरैले स्थगित गरेका छन्।

केहीले भने धार्मिक आस्था र पारिवारिक आवसेकताका आधारमा सरकारले तोकेको संख्या अनुसारको संख्या र सामाजिक दुरीलाई कायम राख्दै कार्यक्रमहरु आयोजना गरिरहेका छन्।

आइतबार झापाका विभिन्न स्थानमा आज उत्तम साईत परेको भन्दै वैवाहिक कार्यक्रम आयोजना गरेको पाइएको छ। त्यस्तै झापाको विर्तामोडस्थित जात्रुबाडी चोकमा एक व्यवसायी, समाजसेवीको घरमा पनि विवाहको कार्यक्रम भयो।

बिर्तामोडका विभिन्न संघ संस्थामा रहेर सामाजिक काममा सक्रिय बन्दै आएका ओमकृष्ण बिमली र पार्वता बिमलीकी जेठीछोरी मनिसा बिमलीको विवाह नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्यामबाबु सिटौलासँग सम्पन्न भएको हो।

नेता सिटौला आफैंमा राष्ट्रिय स्तरमा परिचित व्यक्ती भएकाले सहज परिस्थितिमा भने छोराको विवाहमा आउने जन्तीहरु विशिष्ट व्यक्तीहरु र उल्लेखनीय संख्या हुनेनै थियो । त्यस्तै विमली पनि विर्तामोडका एक प्रतिस्ठित व्यापारीहुन उनको पनि समाजमा धेरै संग परिचय रहेको छ  ।

विवाह हुनु कुनै नौलो कुरा होइन तर आज लकडाउ रहेको अबस्थामा आयोजना भएको विवाह भने अन्य समयको भन्दा रोचक र अनौठो बनेको थियो। नेता सिटौला बेहुला छोरा र आफ्ना दुई जना अंगरक्षक र अरु ३ जना गरि ७ जनाको संख्यामा झापाको भद्रपुरस्थित चन्द्रगढीबाट जन्ती लिएर आएका थिए। उता वेहुलीको घरमा स्वागतका लागि १२ देखि १५ जनाको उपस्थिति थियो।

आएका जन्तीलाई प्रवेश गर्नु अघि गेटकै छेउमा राखेको साबुन पानीले हात धुन लगाईयो, हात धोई सकेपछि सेनिटाईजर हातमा लगाएर मात्र प्रवेश गराइएको थियो। सबैले अनिवार्य रुपमा मास्क प्रयोग गरेका थिए, घर पट्टिकाले पनि सबैले मास्क लगाएका थिए।

बाजागाजा केही थिएन, महोल शान्त र सुनसान थियो। आएका जन्ती र घर गाउँलेहरु सामाजिक दुरी कायम गरेर बसेका थिए। विवाहको कर्म गर्दा आलोपालो सँग गरिएको थियो।

प्रकाशित मिति: : 2020-04-26 23:05:52

प्रतिकृया दिनुहोस्