चीनबाट विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको नेपालमा थप संक्रमण फैलन नदिन भन्दै सरकारले जारी गरेको लकडाउन आज ३२ औं दिनमा पुगेको छ।
लकडाउनका कारण अधिकांशको दैनिकी अस्तव्यस्त भएको छ। दिनमा कमाएर छाक टार्नेसहित मागेर पेट पाल्नेलगायतलाई लकडाउनले नराम्री प्रभाव पारेको छ।
त्यस्तै दैनिकजसो काम गरेर आफ्नो गुजारा चलाउने टेम्पु चालकको अवस्था पनि उस्तै छ। लकडाउन अगाडि आफ्नो कमाईमा सन्तुष्ट रहने उनीहरू आजभोलि घरमै बस्नुपरेको छ।
दिनहुँ काम गरेर गुजारा चलाउँदै आएका उनीहरू अहिले घरबाट बाहिर निस्कनसमेत नपाउँदा निराश बनेका छन्। कसरी बितिरहेको छ उनीहरूको दैनिकी
शुष्मा तामाङ
दैनिक बिहान ६ बजेदेखि रातको ८ बजेसम्म टेम्पु चलाउन व्यस्त उनी अहिले फुर्सदिली बनेकी छन्।
लकडाउनका कारण न उनी काम गर्न जान पाएकी छन्। नत घरबाट निस्कन नै। लकडाउनले उनी बेरोजगार भएपछि गाउँ फर्किएकी छन्।
‘काठमाडौँमै बसेको भए खानसमेत पाइँदैन थियो होला। काम नभएपछि कसरी माम हुन्छ त?,' उनले बिएल नेपाली सेवासँगको टेलिफोन संवादमा भनिन्, ‘काठमाडौंमा काम नहुँदा बस्न नसकिने भएकै कारण आफू गाउँ गएर बसेको हुँ।
उनले काठमाडौंको तुलनामा गाउँमा केही हदसम्म खुसी मिलेको बताइन्। ‘काम गर्दा पो खानाका लागि दुःख थिएन। कमाई नगरी बस्दा त गाह्रो हुने रहेछ। गाउँमा त खानको लागि दुःख हुँदैन् र काठमाडौंको जस्तो कोरोनाको त्रास पनि छैन्,’ उनले भनिन्।
लकडाउन खुलेलगतै काठमाडौं आएर फेरि टेम्पु चालाउने उनले बताइन्।
बिनु तामाङ
स्थानीय घर सिन्धुपाल्चोक भएता पनि काठमाडौंको बौद्ध महांकाल बस्दै आएकी ३१ वर्षीय बिनु १० वर्षदेखि टेम्पु चलाएर परिवार पाल्दै आएकी छन्।
काम भएको समयमा राम्रै आम्दानी गर्दै आएकी उनी सरकारले जारी गरेको लकडाउन पछि दैनिक छाक टार्नै समस्या भएको बताइन्।
'काम पनि छैन्। राहत पनि दिदैनन्। अनि खानका लागि त समस्या भइहाल्छ नि। हामीजस्तो दिनमा मजदुरी गरेर साँझमा खानेका लागि यो मुश्किलको क्षण हो, लकडाउन,’ उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भनिन्।
सरकारले राहतको घोषणा गरे पनि वा केही बाँडे पनि आफूले भने अहिलेसम्म नपाएको उनको गुनासो छ।
‘राहतको लागि फर्म भरेको १५ दिन जति भइसक्यो। तर राहत अझै पाएकै छैन,’ उनले दुखेसो पोखिन्,‘ 'कमाई धमाई केही छैन। भएको अन्नपात र पैसाले कति दिन पुग्ने हो थाहा छैन।
लकडाउनले कहीँकतै हिँड्न नपाएको भन्दै उनले आफूले हिजो आज सुतेरै दिन बिताउने गरेको बताइन्।
दुई जना छोरा र छोरीसहित बस्दै आएकी उनी कोरोनाको डरले घरबाहिरसमेत निस्किएकी छैनन्।
कहिलेसम्म हो यसरी घरमा बस्नुपर्ने, चाँडैं लकडाउन खुले त फेरि काममा फर्किने थिएँ भन्दै उनले भनिन् ‘काम नगरी बस्ने बानी नभएकोले मलाई घरमा त्यतिकै बस्न मन वाक्क दिक्क लागिसक्यो।’
बुद्धिबहादुर सुनार
राजधानीमा १२ वर्षदेखि टेम्पु चलाउँदै आएका बुद्धिबहादुर सुनारले टेम्पुको स्टेरिङ नछोएको महिना दिन नाघिसक्यो।
तर फलामको काम राम्ररी गर्नसक्ने उनी हिजोआज त्यही काम गरेर समय बिताउँदैछन्।
'फलामको काम गर्न आइहाल्छ। त्यही काम गर्दैछु, मलाई लकडाउनले केही असर गरेको छैन,' उनले बिएल नेपाली सेवासँग भने, 'फलामबाट हँसिया, कुटो कोदालो र खुकुरी बनाउने गरेको छु। त्यहीँबाट आफ्नो गुजारा चलाईरहेको छु।'
आफूसँग भएको फलामले नै हतियार बनाएर बेच्दा उनी एउटा हतियार बराबर १५ सय रूपैयासम्म लिने गरेका छन्। त्यतिमात्र होइन उनी पुराना र बिग्रिएका हतियार बनाइदिएवापत २ सयसम्म लिने गरेका छन्।
लकडाउन अवधिभर टेम्पुको स्टेरिङ समात्न नपाएपनि कहिलेकाही गर्ने यो पेशाले उनलाई बेरोजगार नबनाएको बताउँछन्।
लकडाउन खुलेपछि फेरि टेम्पु चलाउने भन्दै उनले यस्तो कामबाट खान लाउन धौधौ हुने बताउँछन्।
इन्द्रबहादुर तामाङ
५३ वर्षीय इन्द्रबहादुर तामाङ पनि हिजो आज पुरै बेरोजगार भएर घरमा बसेका छन्।
दैनिक बिहान ७ बजेदेखि रातको ८ बजेसम्म काममा खट्ने गरेका उनी अहिले निक्कै नै फुर्सदिला भएका छन्।
२० वर्षदेखि लगातार टेम्पु चलाउँदै आएका उनी पहिलो पटक यति धेरै फुर्सदिलो भएका हुन्। उनी भन्छन्, 'काम गर्दा राखेको पैसा पनि सकियो। अब के खाने होला? भनेर पिर लागिरहेको छ।'
सरकारले जारी गरेको लकडाउनले आफूहरू जस्तो मान्छे बढी पीडित भएको उनको गुनासो छ। 'हुने मान्छेका लागि त्यस्तो समस्या नपर्ला। तर मेरो लागि त पहाडै खसे समान भयो,' उनले भने।
दिनभरी काम गरेर परिवारका पेट पाल्दै आएका उनलाई अहिले राहतको भरमा बस्नुपरेको छ। 'राहत त पाएँ। तर त्यती राहतले कति नै पुग्थ्यो र? आफूले पुगेन भनेर माग्ने कुरा पनि त भएन नि' उनले भने। राहत चित्त बुझ्दो नभए पनि हात थाप्नु परेको उनको भनाइ छ।
कोरोनाबाट बच्नका निम्ति आफूसँग स्यानीटाइजरसमेत खरिद गर्ने पैसा नभएको भन्दै उनले भने, ‘मुखमा हाल्ने त छैन्। कहाँबाट पाउनु हातमा लगाउने?'
लकडाउन खुले लगतै काममा निस्कने उनले बताए।