क्यालेण्डरमा आजको मिति देख्नासाथ दैलेखका २२ वर्षीय रमेश खत्रीलाई त्यही दिनको सम्झना आउँछ। क्यालेण्डर हेर्छन्। अनि हेर्छन् आफैँलाई। आफ्नै शरीरलाई। त्यो दिन नआइदिएको भए ?
त्यो दिन नआइदिएको भए उनी साँझपख नाइट बस चढेर घर जाने थिए। बुवा, आमा, भाइ, बहिनीसँग खुशी साट्नेथिए। तयारी गरिसकेका थिए नि।
२०७१ चैतमा उनी काठमाडौं आएका थिए केही पैसा कमाउन। काठमाडौंको बालाजुस्थित एउटा होटलमा काम पाए। एक महिनापछि पारिश्रमिक लिए।
हातमा पैसा परेपछि घर जाउँ, जाउँ लाग्यो। रत्नपार्क पुगेर बुवा, आमा, भाइ, बहिनी सबैलाई उपहार किने। पहिलो कमाईको उपहार। भुकम्प नआएको भए १२ बैशाख साँझ नाइट बसर चढेर घर जाने थिए।