मुलुकका विभिन्न भेगबाट उद्धार गरी ल्याइएका कर्णालीवासीलाई वीरेन्द्रनगरस्थित क्वारेन्टाइनमा राखिएको छ। प्रदेश सरकारको सहयोगमा सेनाको उत्तरपश्चिम पृतनाले व्यवस्थापन गरेको खुलामञ्चस्थित क्वारेन्टाइनमा थप ५९ जनालाई राखिएको हो।
क्वारेन्टाइन राखिएकाहरुको स्वास्थ्य परीक्षण भइरहेको नयाँ सबुज दल गणका सेनानी दयाराम ढकालले जानकारी दिए। 'पहिलो चरणमा क्वारेन्टाइनमा बसेका १८८ जनाको कोभिड–१९ को नतिजा ‘नेगेटिभ’ आएपछि घर पठाइएको थियो' उनले भने, 'दोस्रो चरणमा काठमाडौँ, नवलपुरलगायतका स्थानबाट उद्धार गरी ल्याइएकालाई यहाँ राखिएको हो।' उनीहरु पैदल हिँडेर प्रदेश नं ५ र कर्णालीको सीमा बबईसम्म आइपुगेको उनले बताए।
नवलपुरबाट पैदल हिँडेर बबईसम्म आइपुगेको बताउँदै कालीकोटका कलबहादुर खड्काले भने, 'काम गर्दासम्म ज्याला पाइयो, लकडाउनले कामै रोकियो, छाक टार्न समस्या भयो, त्यसपछि हिँडेरै घर फर्कियौँ।' कर्णाली भित्रिने मुख्य नाका बबईबाट दैनिक ५० जना नागरिक आउने गरेको प्रदेश सरकारले जनाएको छ।
जुम्लाबाट चार दिन हिँडेर सुर्खेत आइपुगेका बर्दिया र बुटवलका २२ जनालाई उद्धार गरी बबईसम्म पठाइएको छ। बर्दिया राजापुर नगरपालिका–८ का युवराज चौधरीले लकडाउन लम्बिँदा जुम्लामा खर्च चलाउने समस्या भएपछि हिँडेरै आउन बाध्य भएको बताए। राजापुर नगरपालिकाले बबईबाट उद्धार गर्ने बताएको छ।