युरोपले बिस्तारै ‘लकडाउन’ सहज गर्दैछ

कोरोना भाइरसपछि पुनःखुल्ने तरखरमा छन् यी देशहरू। तिनीहरूले यसरी तयार गरिरहेका छन्।

चेक गणराज्यका नागरिक अब हार्डवेयर र साइकल स्टोरमा किनमेल गर्न सक्छन्, टेनिस र पौंडी खेल्न सक्छन्। इटालियनहरू पुस्तक पसल र लाउन्ड्रीसम्म जान सक्छन्। युवा विद्यार्थी डेनमार्कको कक्षा कोठामा फर्किरहेका छन्। अस्ट्रियाले साना स्टोर पुनः खाेलेकाे छ र जर्मनी अर्को सातादेखि यी देशलाई पछ्याउँदैछ।

यी देश पहिलाे पश्चिमा राष्ट्र हुन्,जसले कोरोना भाइरसको रोकथामका लागि सरकारले लगाएको दैनिक जीवनका सीमितताबाट आफ्नाे नागरिकलाई बिस्तारै खुकुलो महसुस गराउँदैछ। 

‘लकडाउन’ का कारण घरमा बढिरहेको सामाजिक र आर्थिक दबावका बीच बाहिर निस्किने मार्गमा के पाठ सिक्न सकिन्छ भनेर यति बेला अन्य देश पनि चनाखाे भएर बसेका छन्।

जर्मनी चान्सलर एन्जेला मार्केलले गत बुधबार युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्था भएकाे जर्मनीले अर्को सातादेखि होसियारीपूर्वक केही प्रतिबन्ध फुकुवा गर्ने तयारी भइरहेकाे घोषणा गरिन्। यद्दपि उनले याे भनिरहँदा स्वीकार पनि गरेकी छिन्,‘हामीलाई हलचल गर्ने ठाउँ थोरै छ।’

तर प्रतिकूल परिस्थितिमा पनि युराेपेली महादेशका केही भागमा दैनिक जीवन फेरि बिस्तारै अगाडि बढ्न थालेको छ। चेक गणराज्यका व्यवसायिक एथलेट इरेना गिलारोभाका लागि गत साता तालाबन्दी सहज हुनुको मतलब उनी प्रागको जुलिस्का स्टेडियममा देश बन्द भएपछि पहिलो पटक तालिममा फर्किनु थियाे। ‘यो राम्रो हो र इमान्दारितापूर्वक भन्नु पर्दा म उत्साहित छुँ र खुशी पनि,’ उनले शुक्रवार सीएनएनलाई भनिन्,‘यी दुई साता घरमा मेरो कामलाई पहिलेभन्दा बढि कदर गर्न मद्दत पुर्‍यायो र यसलाई मैले हल्का रूपमा लिइन।’

चेक गणराज्यमा डिपार्टमेन्ट स्टाेरमा सामाजिक दूरी बनाउँदै नागरिकहरु।

‘लकडाउन’ बाट केही सहज हुँदा स्टेडियममा निश्चित संख्यामा रहेका व्यक्ति मात्र उपस्थित थिए। ‘मैले सतप्रतिशत सुरक्षित महसुस गरें,’ २८ बर्षे एथलेटले भनिन्,‘मलाई लाग्छ, खुला गर्ने प्रणाली एकदम राम्रो छ र हामी यस बारे सचेत हुन कोशिस गरिरहेका छौं। हामी सबैले यसलाई जिम्मेवारीका साथ लिइरहेका छौं।’

अक्सफोर्ड साड बिजनेस स्कूलका विश्वव्यापी स्वास्थ्य विशेषज्ञ डा. पीटर ड्राब्याकले हालै सीएनएनलाई दिएकाे अन्तर्वार्तामा भनेका छन्, प्रतिबन्धलाई कम गर्दै आएका पश्चिमा देशका लागि याे महत्वपूर्ण र आशावादी उदाहरण हाे। उनले भने,‘हामीलाई अझै सुरक्षित र प्रभावकारी रूपमा ‘लकडाउन’ बाट कसरी बाहिरिने भन्ने विषयमा धेरै कुरा सिक्न बाँकी छ।’ 

युराेपेललाई जाेड्ने सीमामा यति बेला कुनै किसिमकाे खुकुलोपना जोखिम बन्न सक्छ। विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक डा.हान्स क्लुगेले गत साता चेतावनी नै दिइसकेका छन्, ‘युरोपको अवस्था अझै पनि चिन्ताजनक छ। यो समय आराम गर्ने होइन।युरोप महामारीको केन्द्रमा छ।’

विश्वव्यापी रूपमा काेराेनाका १० सबैभन्दा बढी प्रभावित देशमध्ये सात यही महादेशमा रहेको छ। मेडिकल जर्नल द लान्सेटमा चीनको प्रकोपमा आधारित एक अध्ययनले यो रोगको भ्याक्सिन पत्ता नलागेसम्म ‘लकडाउन’ पूर्ण रूपमा पालना गर्न र तत्कालै नहटाउन सुझाव दिएको छ।

ड्रोब्याकका अनुसार ‘लकडाउन’ लाई खुकुलाे पारेका वा पार्ने तयारी गरिरहेका देशसँग केहि समानता छ। उनीहरूले कोरोना भाइरसको परीक्षणलाई तिब्र बनाएका थिए र गम्भिर सामाजिक दूरीका उपाय अवलम्बन गरेका थिए। ‘उनीहरूसँग यी सबै चिज ठिक ठाउँमा थिए। परिणाम स्वरूप उनीहरु पहिले नै संक्रमणको शिखरमा पुगे,’ उनले भने, ‘यी देशमा कोरोना भाइरससम्बन्धी मृत्यु हुनेको संख्या हजारौंको सट्टा दश वा सयौंमा छ। त्याे उनीहरूकाे सक्रियता कारण भएकाे हाे।’

ड्राेब्याकले यी देशसँग ‘लकडाउन’ लाई बिस्तारै कसरी कम गर्ने भन्ने याेजना भएकाे बताए। ‘उनीहरुकाे याेजना उचित र बुद्धिमानी देखिन्छ,’ उनले भने,’यो क्रमिक प्रक्रिया हो र तिनीहरू नयाँ संक्रमण जान्न र पत्ता लगाउन सक्षम हुनेछन्। तर उनीहरू धेरै सहज भए र संक्रमण बढ्न थाल्याे भने अलिकति पछाडि सर्न सक्छन्। प्रत्येक देशले यसरी नै गर्नपर्ने हुन्छ।’

उनका अनुसार अन्य मुलुकले याे अनुशरण गर्न तीन सामान्य मापदण्ड पूरागर्नु आवश्यक छ। ‘लकडाउन’ कम गर्न सर्वप्रथम, नयाँ समक्रमितको संख्यामा निरन्तर कमी देखिनु जरुरी छ। दोस्रो, त्याे देशको स्वास्थ्य प्रणाली आपतकालीन संकट उपायको सहारा बिना उपचार गर्न सक्षम हुनु आवश्यक छ। तेस्रो, संक्रमितकाे सामूहिक परीक्षण, आइसाेलेसनकाे पूर्व व्यवस्था, ताकि बिरामी मानिसले अरुलाई संक्रमित गर्नुभन्दा पहिले नै अलग्गै राख्न सकिने व्यवस्था हुनु जरुरी छ। 

जर्मनीले स्टोर पुन: खोल्दैछ तर सम्पर्क गर्न प्रतिबन्ध 

प्रकोपको शुरूवात देखि नै परीक्षणलाई व्यापक बनाएकाे जर्मनीले अर्को सातादेखि ‘लकडाउन’ खुला गर्ने सोच बनाएकाे छ। ८ सय वर्ग मिटरको बिक्री क्षेत्रसहितको स्टोर (सरसफाइ कायम राख्न र लाइनहरू गठन गर्नबाट रोक्ने) सोमबारबाट फेरि खोल्न सक्ने छन्। 

सरसफाई योजनामा रहेका स्कूल प्राथमिक र माध्यमिक विद्यार्थीलाई प्राथमिकता दिँदै बिस्तारै मे ४ देखि फेरि खुल्ने छन्।तर डेकेयर केन्द्रहरू बन्द रहनेछ। ठूला सार्वजनिक कार्यक्रम लगायत अन्य सामाजिक दूरी भने प्रतिबन्ध रहिरहनेछ।

जर्मनीले बुधबार सबैभन्दा बढी दैनिक २ सय ८५ जनाको मृत्यु हुने संख्या रेकर्ड गर्यो। जसले मुलुकको कूल मृत्यु संख्या ३ हजार २ सय ५४ पुग्यो। तर, संक्रमितकाे संख्या हालसम्मकै सबैभन्दा कम थियाे। रोग नियन्त्रण र रोकथाम केन्द्रका प्रमुखले मंगलबार दिएकाे जानकारी अनुसार जर्मनीमा भाइरसविरुद्धको लडाईमा सकारात्मक संकेत देखिएका छन्। 

लोथर विलरले भने, ‘प्रयास जारी छ तर नागरिक अनुशासनमा रहनु पर्छ।’ उनले चेतावनी दिँदै भनेका छन्– संक्रमणको सख्या घट्दै गइरहेको कुनै स्पष्ट संकेत हाेइन हाे। जर्मनीमा कडा क्षेत्रीय मतभेद छ। 

इटालीले ढिलाई गर्‍यो

प्रधानमन्त्री ज्युसेप कोन्टेले अप्रिल १० मा हस्ताक्षर गरेको सरकारी आदेशपछि मंगलबार इटालीमा पुन: खोल्न अनुमति दिइने कारोबारमध्ये बुक स्टोर, लाउन्ट्री, स्टेशनरी स्टोर र बच्चाको लुगाफाटा पसल थिए। अनुमति प्राप्त गतिविधिको सूचीमा वन, कम्प्युटर निर्माण,ल्यान्डस्केप केयर र मर्मत, हाइड्रोलिक काम र कागज र कार्डबोर्ड उत्पादन छन्।

यो बदलाव इटालीलाई सामान्य अवस्थामा ल्याउने तीन चरणको योजना (चरण २) को बखत खुला पूर्वावलोकन हो, जुन केहि समाय मे ३ पछि सुरु हुनेछ। सोमबार साँझ एक प्रेस वार्तामा राष्ट्रिय स्वास्थ्य संस्थान (आईएसएस) का संक्रमण रोगका निर्देशक जियानी रेजाले भने, इटालीमा मृत्यु दर र महामारीको रेखा ‘सकरात्मक संकेत, जुन समयमै सर्वसञ्चित गर्न जरुरी छ।’

देशका केहि क्षेत्रले भने प्रतिबन्ध हटाउन ढिलाइ गर्ने निर्णय गरेको छ। लोम्बार्डी र भेनेटोमा महामारीले सबैभन्दा बढी प्रभावित क्षेत्र हुन्। जहाँका पुस्तक पसल र स्टेशनरी स्टोर खोल्न अनुमति छैन। लाजियो क्षेत्रका रोम लगायतमा पुस्तक पसलले अप्रिल २० देखि खोल्न सक्दछन्।

जुन व्यवसाय फेरि खुल्छ त्यसले कोरोना भाइरसको नियन्त्रणको नियम पालना गर्नुपर्ने हुन्छ। उनीहरुले हाते सेनिटाइजर उपलब्ध गराउने, बन्द स्थानमा मास्कको प्रयोग गर्ने, खाने र पेय पदार्थ लिँदा डिस्पोजेबल ग्लोभ प्रयोग गर्नुपर्ने लगायत निर्देशन दिइएकाे छ।

सरकारको आदेश जस्तै हात धुने, अंगालो र हात मिलाउनबाट अलग रहनु, अन्य व्यक्तिबाट कम्तिमा एक मिटरको दूरी राख्नु, हाच्छयु र खोकीलाई रुमालले छोप्नु र सतहहरु क्लोरीन वा अल्कोहलले सफा गर्ने नियम पनि अनिवार्य पालना गर्नु पर्नेछ।

म्याड्रिडमा ३० हजार जना काम गर्न फिर्ता 

क्षेत्रीय सरकारका अनुसार स्पेनका धेरै अनावश्यक कर्मचारी इस्टर समाप्त भएपछि काममा फर्केका थिए। स्पेनको आपतकालीन अवस्था घोषणा भएको मंगलबार मार्च १४ मा एक महिना भयो। निर्माण र अन्य उद्योगहरूलाई पुन: सुरू गर्न अनुमति दिइएको छ तर अनावश्यक स्टोर बार र रेस्टुरेन्ट भने बन्द रह्यो।

मंगलबार अन्तर्राष्ट्रिय मुद्रा कोषले २०२० मा स्पेनको जीडीपी ८५ मा संकुचन हुने पूर्वानुमान गरेको छ भने २०२१ मा ३.३५ ले वृद्धि हुने बताइएकाे छ। स्पेनको जनरल वर्कर्स युनियन (यूजीटी) ले काममा फर्कने बारेमा चिन्ता व्यक्त गरेको थियो र रोजगारदातालाई व्यक्तिगत सुरक्षा उपकरण प्रदान गर्न जिम्मेवार हुन आह्वान गरेको थियो।

क्याटलानका क्षेत्रीय राष्ट्रपति क्विम तोराले मजदुरलाई काममा फिर्ति गराउने केन्द्रकाे निर्णयलाई गैरजिम्मेवारपूर्ण र लापरवाहीको आरोप लगाएका छन्। अन्य क्षेत्र, विपक्षी दल र वैज्ञानिकले पनि प्रतिबन्ध खकुलो बनाउने निर्णकाे विरोध गरेका छन्। मेट्रो, बस र रेल स्टेशनमा यात्रुलाई स्पेनी प्रहरीले १ करोडभन्दा बढी मास्क वितरण गर्दैछ।

डेनमार्कले प्रतिबन्धहरुलाई सजिलो बनाउँदै

पछिल्लो समय नयाँ संक्रमितकाे संख्या अपेक्षाभन्दा कम प्रमाणित भएपछि डेनमार्कले कोभिड–१९ प्रतिबन्ध हटाउने आफ्नो निर्णयलाई तीब्र पारिरहेको प्रधानमन्त्रीले बताएका छन्।

मंगलबार पत्रकार सम्मेलनमा, मेटे फ्रेडरिकसनले भने–देशले ‘चरण १’ पुन: खोल्न विचार गर्नेछ र बुधवारदेखि युवा विद्यार्थीको लागि आंशिक खोल्ने कार्यबाट शुरू हुनेछ।

प्रधानमन्त्रीले बुधबार साँझ अन्य सरकारी नेतासँग अन्य कुनै प्रतिबन्ध कम गर्ने भन्नेबारे छलफल गरेका थिए। सरकारले यसभन्दा पहिले १० मे सम्म १० भन्दा बढी व्यक्तिको भेलामा प्रतिबन्ध लगाएको थियो र चर्च, सिनेमा र शपिङ सेन्टर बन्द रहने भनेकाे थियाे। सबै चाड पर्व र ठूला जमघट भने अगस्टसम्म प्रतिबन्धित गरिएको छ। 

रोयटर्स समाचार एजेन्सीका अनुसार फ्रेडरिकसनले गत साता एक मिडिया ब्रीफिङमा ‘यो सम्भवत कसिएकाे डोरीमा हिँड्नु सरह हुने हो,”भनेका थिए। ‘यदि हामी बाटोमा उभियौ भने लड्न सक्छौ, छिटो गयौं भने यो गलत हुन सक्छ। त्यसैले हामीले सतर्कता अपनाउनु पर्छ।’

मार्च १३ मा आफ्नो सिमाना बन्द गर्ने ५८ लाख जनसंख्या भएको युरोपेली मुलुक मध्ये डेनमार्क पहिलो राष्ट्र थियो। त्यहि साता उसले स्कूल, क्याफे र पसल बन्द गर्‍याे, साथै १० भन्दा बढी व्यक्तिको भेला र अस्पतालको भ्रमणमा प्रतिबन्ध लगायो।

डेनिश राष्ट्रिय टिभीमा फ्रेडेरिकसनले भने, ‘इटाली र अमेरिकाजस्ता स्थान जस्तै  हामीले दुःखद परिदृश्यबाट बच्न सकेको कारण नै हामीले चाँडै ‘लकडाउन’ गर्नु हाे।’ 

चेक पसलहरू पुनःखुल्दैछ 

चेक गणराज्यले मार्च १२ मा आपतकालीन अवस्था घोषणा गरेपछि यात्रामा प्रतिबन्ध लगाउने, ठूला कार्यक्रममा रोक लगाउने र अनावश्यक व्यवसाय बन्द गर्न द्रुतगतिमा अघि बढ्याे। युरोपमा अनौपचारिक हिसाबले पनि १.७ करोड मानिसलाई आफ्नो अनुहार ढाक्न आवश्यक परेको थियो। 

यति बेला ती कडा नियन्त्रणका प्रयास भुक्तान गरिरहेको देखिन्छ। किनकि सरकारले घोषणा गरिसकेको छ, केही प्रतिबन्धमा बिस्तारै छुट दिने। 

चेक सरकारले अप्रिल ६ मा भनेको थियो, मानिसहरू मास्क बिना एक्लै व्यायाम गर्न सक्नेछन् र हार्डवेयर र साइकल स्टोर जस्ता पसल पुनः खोल्न अनुमति दिइनेछ। आउटडोर खेल सुविधा पनि फेरि खुलेका छन्।

कलेज र विद्यालयमा विद्यार्थी चरणबद्ध रुपले फर्काउन सुरू गर्दैछन्। प्रायः एक–एक जनालाई परामर्श गर्नेछन्। उच्च माध्यमिक विद्यालय र प्रवेश परीक्षा जून १ पछि मात्रै खुल्नेछ। सेप्टेम्बर १ सम्म हाई स्कूल पूर्ण रूपमा खुल्ने अपेक्षा गरिएकाे छैन। 

सरकारले किसानको बजार र कार डिलरशीपलाई फेरि खोल्न अनुमति दिनेछ, १० भन्दा कम व्यक्ति उपस्थित हुने भए भनेर विवाहको अनुमति दिइनेछ।

यदि तिनीहरूसँग बाह्य आँगन छ वा ‘टेक अवे’ खाना र पेय पदार्थ बेच्ने हो भने २५ देखि, तत्काल उपभोगका लागि सामान पाईने रेस्टुरेन्टहरू, स्न्याक बार, पब र वाइन शपहरू खोल्न अनुमति दिइनेछ। संग्रहालय, ग्यालरी र चिडियाखानाले उही मितिबाट उनीहरूको बाहिरी प्रदर्शनहरू खोल्न सक्छन्, कपाल सैलुन र सौन्दर्य सैलुनलाई पनि फेरि खोल्न अनुमति दिइनेछ। 

जून ८ देखि, सबै खुद्रा स्टोर, किनमेल केन्द्र, सबै रेस्टुरेन्ट, होटेल र अन्य आवास खोल्न अनुमति दिइनेछ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो नम्बरका अनुसार चेक गणराज्यमा ६ हजार १ सय ५१ जनामा कोरोना भाइरस पुष्टी भएका छन् भने १ सय ६१ मानिसले ज्यान गुमाएका छन्। 

चेक गणराज्यबाहिर अति आवश्यक यात्रा गर्न अहिले पनि अनुमति छ। एथलेट गिलारोभा आशावादी छिन् कि यो वर्ष अन्तर्राष्ट्रिय प्रतिस्पर्धा फेरि सुरु हुनेछ (यसपटकको यूरोपियन एथलेटिक्स च्याम्पियनशिप अगस्टमा पेरिसमा हुन सक्ने छ) विशेषत ओलम्पिकपछि २०२१ धकेलिएको निराशाका बीच।  

अस्ट्रिया:चरणवद्ध पहलकदमी 

छिमेकी अस्ट्रियामा, टायरोल प्रान्तको इशग्लको लोकप्रिय शीतकालीन खेल रिसोर्ट, गत महिना युरोपको अन्य भागमा कोरोना भाइरस फैलिएसँगै जोडिएको थियो। यसले प्रतिबन्ध सहज भएपछि चरण वद्ध पहलकदमी अपनाइरहेको छ।

साल्जबर्ग शहरले नगरपालिका नौ मध्ये आठमा प्रतिबन्ध हटाएको साल्जबर्गको सरकारी मिडिया सेन्टरले मंगलबार घोषणा गरेको छ। अवकाश गृहमा धेरै मुद्धाहरू आएपछि अल्टेनमार्कको समुदायमा दुई दिनको अवधिमा एकान्तवास लमब्याएको थियो।

अस्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले इस्टरपछि देशले पुनरुत्थानको योजना बनाइरहेकाले केही साना पसल, हार्डवेयर र बगैंचा पसल खोल्ने गत साता घोषणा गरेका थिए। तर मानिसले सुपरमार्केटमा र सार्वजनिक यातायातमा मास्क अनिवार्य लगाउनु पर्नेछ। १ मईदेखि सबै स्टोर, किनमेल केन्द्र र कपाल काट्ने सैलुन खुल्ने छ भने रेस्टुरेन्ट र होटेल मे महिनाकाे मध्यबाट खुल्नेछ। तर यसका लागि सबैले कडा सुरक्षा शर्तकाे पालना गर्नुपर्ने छ। 

खतरा अझै नसकिएको भन्दै कुर्जले चेतावनी पनि दिएका छन्। उनले सिंगापुरको उल्लेख गर्दै पुनरुत्थान घटना देखा परेको पनि स्मरण गराए। ‘जसले परिस्थिति नियन्त्रणमा छ सोचेको छ, उनीहरु गलत हुन,’ उनी भन्छन्।

सरकारले अप्रिलको अन्त्यमा निर्णय गर्नेछ कि होम–स्कूल शिक्षा मेकाे मध्यपछि बढाउने कि छाेट्याउने  भन्ने विषयमा।यहाँ जूनको अन्त्यसम्म कुनै ठूलो कार्यक्रम आयोजना हुने छैन। ‘हाम्रो लक्ष्य क्रमश: यस रोगको उन्मूलन गर्नु हो,’ कुर्जले भने।

गत साता अस्ट्रियाले कोरोना भाइरस कसरी व्यापक रूपमा फैलिएको थियो भनेर जाँच्नको लागि देशभर १५ सय व्यक्तिको परीक्षण गराएकाे थियाे। यसबाट आएकाे नतिजाले पत्ता लागेकाे थियाे कि गैरअस्पतालमा जनसंख्याको १५ भन्दा कम संक्रमित थिए। यसभन्दा पहिले अस्ट्रियाले गम्भीर बिरामी परेकाको पनि परीक्षण गराएकाे थियाे। 

मंगलबारसम्म अस्ट्रियामा पुष्टि भएका कोरोना भाइरसको संख्या १४ हजार ४ सय ६० पुगेको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मर्नेको संख्या घ सय ८४ पुगेको छ।

नर्वे: सतर्कसहित आशावादी 

नर्वेले फरक दृष्टिकोण लिइरहेको छ, मार्चकाे मध्यमा लागू गरिएको रोकथाम उपायहरू सहज भएकाले स्कूल पुनःखोल्ने तयारी भइरहेकाे छ। अप्रिल २० देखि ‘लकडाउन’ का उपायहरू फिर्ता गर्ने थालनी सुरु हुने प्रधानमन्त्री एर्ना सोलबर्गले बताएकी छिन। उनले भनिन्, ‘किन्डरगार्डेन पुनःखोलिने छ। सातापछि, कक्षा एकदेखि चारसम्मका विद्यार्थीकाे लागि विद्यालय फेरि खुल्नेछ।हाम्रो अभिलाषा सबै विद्यार्थीको लागि गर्मीभन्दा पहिले स्कूलमा फर्काउनु हो।’ 

पछिल्लाे तथ्यांकले संक्रमित दर स्थिरता देखिएकोले ‘सतर्क आशावादी’को आधार भएको सरकारले विश्वास लिएको प्रधानमन्त्रीले बताएकी छिन्। ‘सँगै काम गरेर, हामीले भाइरसलाई नियन्त्रणमा राख्यौं र अलि–अलि प्रतिबन्ध हटाउन थाल्छौं। हामीले यो सावधानीपूर्वक र समय लिएर गर्छौं,’ उनले बताएकी छिन्।

नर्वेको सार्वजनिक स्वास्थ्य संस्थानका अनुसार बुधबार सम्म ६ हजार ६ सय ७७ जना कोभिड–१९ संक्रमित देखिएकाे छ भने १ सय ३० जनाको मृत्यु पुष्टि भएकाे छ।

स्विट्जरल्याण्डले पनि प्रतिबन्ध फुकुवा गर्ने विचार गरिरहेको छ। अप्रिल २६ सम्म सामाजिक दूरीमा प्रतिबन्ध लगाए पनि सरकारले यस महिनाको अन्तसम्म सीमा नियन्त्रण, विद्यालय बन्द र भेला हुन प्रतिबन्ध लगायत अन्य उपाय सहज बनाउन सकिने संकेत गरेको छ। ( यदि भाइरस नियन्त्रणमा रह्यो भने।)

स्वास्थ्य सेवाका अनुसार स्विट्जरल्याण्डमा मंगलबारसम्म २५ हजार ८ सय ३४ पोजिटिभ भेटिएका छन्। यहाँ ९ सय बढीकाे निधन भइसकेकाे छ। जनस्वास्थ्यको रक्षा र आफ्नो अर्थव्यवस्थालाई जीवित राख्ने बीचमा यी देश लगायत अन्य कसिलो डोरीमा हिडेका छन्। यसले धेरै समस्या र चुनाैति अगाडी छ भन्ने कुरा स्पष्ट छ।

डब्ल्यूएचओको क्लुजले पनि जोड दिँदै यही भनेका थिए–‘फेरि एक पटक हाम्रो सामूहिक प्रयासलाई दोब्बर र तेहराे बनाउनु समयकाे माग हो। हामी अन्तको बिन्दुमा पुग्न लागेका छौं भन्ने सोच्नु खतरनाक कुरा हुनेछ।’

त्यसैले उनी रणनीतिमा कुनै परिवर्तन गर्दा, ‘लकडाउन’ काे स्थितिमा छुट वा शारीरिक दूरी मापन गरिदा धेरै सावधानीपूर्वक र सोचविचार गरेर अगाडी बढ्न सुझाव दिन्छन्। 

नेपाली अनुवादकः सुरेन्द्र राना

प्रकाशित मिति: : 2020-04-18 20:50:00

प्रतिकृया दिनुहोस्