लकडाउनमा पनि राेकिएन झापाका दक्षिणी क्षेत्रमा हटिया

चिरञ्जीवी घिमिरे

सरकारले ११ चैत (२०७६) देखि लागू हुनेगरी देशभर लकडाउन जारी गरेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दक्षिणी क्षेत्रमा दर्जनौँ मानिस जम्मा हुने साप्ताहिक हटिया अझै रोकिएका छैनन् । सीमावर्ती क्षेत्रका हटिया जारी रहे पनि स्थानीय तहका जनप्रतिनिधि भने बेखबरझैँ छन् ।

भारतसँग खुला सीमा जोडिएको जिल्लाको कचनकवल, बाह्रदशीजस्ता स्थानीय तहका गुद्री बजार अझै सञ्चालन भइरहेका छन्, जसका कारण कोरोना संक्रमण हुने जोखिम बढ्दै गएको छ । नयाँ वर्षकै दिन सोमबार बाह्रदशी– २ स्थित जनता बजारमा सोमबारे हटिया लाग्यो । त्यहाँ किन्ने र बेच्ने भीड थियो । त्यहाँ प्रहरीको उपस्थिति पनि न्यून थियो । 

भारतीय सीमादेखि करिब ६ किलोमिटर मात्र उत्तरमा रहेको यो बजारमा भीडभाड हुँदा न जनप्रतिनिधिले खबरदारी गरे, न त प्रहरी प्रशासनले नै सुरुमा ध्यान दिन सक्यो । नागरिकहरूले आफैँ पालना गर्नुपर्ने दूरीसमेत पालना गरेका थिएनन् । न त अधिकांशले मास्कलगायतका सुरक्षाका सामग्री नै प्रयोग गरेका थिए । करिब एक घन्टा हटिया लागेपछि मात्र प्रहरी आएर भीड हटाएको थियो ।

प्रकाशित मिति: : 2020-04-17 18:08:11

प्रतिकृया दिनुहोस्