२०७२ साल वैशाख १२ गते ११ बजेर ५६ मिनेटपछि उनको जीन्दगीले एउटा नयाँ मोड लियो। त्यस दिन भूकम्प जानुभन्दा पहिला सामान्य जीवन बिताइरहेका उनको मनमा अस्पतालको वरिपरी निष्लठ्ठ लडिरहेका शवहरु देख्दा एकाएक समाज सेवाको भाव उत्पन्न भयो।
च्यापिएका मानिसहरुले गुहार मागिरहेको दृष्य अनि आफन्त गुमाउँदा रोइकराई गरिरहेका मानिसहरुको पीडाले उनको मन छोयो। हारगुहार मागिरहेकाहरुलाई अन्य व्यक्ति छुन डराइरहेका बेला उनका हात हतारिँदै गुहार मागिरहेका व्यक्तिलाई उद्धार गर्नका लागि अगाडि बढे।
अहिले फेरि एक पटक भक्तपुरका ३० वर्षीय अरुण सैंजुका तिनै सहयोगी हात आगाडि बढेका छन्। अरुण पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उपचार तथा चेकजाँचका लागि जनचेतना फैलाउने काममा सक्रिय भएका छन्। भक्तपुर अस्पतालको गेट छेउमै रहेको ‘फिवर किल्निक’ वरपर उनी बिहानै देखि रातिसम्म दैडधुप गरिहेका छन्। हरेक दिन उनलाई भ्याई नभ्याई भइरहेको छ।
कोरोना भाइरसका लक्षणसँग मिल्दा जुल्दा लक्षण देखा परेका व्यक्तिका घरसम्म पुगेर उनीहरुलाई अस्पताल पुर्याउने अनि उनीहरुको यात्रा विवरण (ट्राभल हिस्ट्री) बटुल्ने र उनीहरुको नमूना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म पुर्याउने काम नै अहिले उनको दैनिकी बनेको छ।