कोभिड–१९ : आइसियूमा वृद्धदम्पती, विवाहको ५० औँ वर्षगाँठ !

उपस्थित सबैको मुखमा मास्क तथा हातमा पन्जा छ । चिकित्सक तथा नर्सले पिपिआई लगाएका छन् । दुईवटा बेड अरूभन्दा अलिक नजिक छन् । दुवै बेडमा एक वृद्ध र वृद्धाको जोडी मुखमा मास्क र अक्सिजन लगाएर उपचार गरिरहेका छन् । 

केही क्षणपछि एउटा बेडका वृद्धले अर्को बेडकी वृद्धाको हात छुन पुग्छन् र दुवैजना प्रेम आदान–प्रदान गर्छन् । वरपर झुम्मिएका नर्स तथा चिकित्सकले ताली बजाएर बधाई तथा शुभकामना दिन्छन् । यो दृश्य पूर्वी इटालीको मार्ची क्षेत्रको फर्मो नगरपालिकाको मुर्री अस्पतालको आइसियूको वार्डको हो । वार्डमा ७१ वर्षीया वृद्धा सान्ड्रा र उनका ७३ वर्षीय पति गियानकार्लोले कोरोना उपचार गराइरहेका छन् । उपचारकै क्रममा उनीहरूको विवाहको ५० औँ वर्षगाँठ मनाएका हुन् । 
 
उपचारमा संलग्न चिकित्सक तथा नर्सले नै विवाह उत्सवको अवसर जुटाइदिएका थिए । सान्ड्रा र गियानकार्लोले अस्पतालको बेडमा भेन्टिलेटरमा मुख ढाकेको अवस्थामा एक–अर्काको हात समाएका थिए । सो जोडीले ५०औँ वर्षगाँठ मनाउने इच्छा व्यक्त गरेपछि उनीहरूको उपचारमा संलग्न नर्स रोबेर्टा फेरिटीले चिकित्सकलाई जानकारी  गराएकी थिइन् ।  फेरिटीले स्थानीय सञ्चारमाध्यमलाई भनिन्, ‘सान्ड्रा र गियानकार्लोले एक अर्कालाई औधी माया गर्दा रहेछन् । उनीहरूले अस्पतालमा नै भए पनि विवाह उत्सव मनाउन चाहेका थिए  ।’

प्रकाशित मिति: : 2020-04-17 06:52:02

प्रतिकृया दिनुहोस्