नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प, भारतको पश्चिम बंगाल सरकारले गर्‍यो मेची नाका सिल

कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए।

यो सँगै नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प भएको छ।

बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चितकालका लागि कारोवार रोक्न निर्देशन दिएसँगै नेपालको भन्सार ठप्प भएको भन्सार प्रमुख विश्वकर्माले जानकारी दिए।

उनकाअनुसार पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिस्नर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने बताएका छन्। नाकामा आएर थन्किएका वस्तुलाई रि-रुट गरी अन्य नाकाबाट पठाउन मोहापात्रले भारतीय भन्सारका अधिकारीलाई निर्देशन दिएको विश्वकर्माले बताए।

भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको उनले बताए। लकडाउनको समयमा सो नाका भएर ग्यासका बुलेट, तरकारी, फलफूल जस्ता वस्तुको आयात हुने गरेको थियो।

यसैबीच केन्द्र सरकारको नीतिबिरुद्ध राज्य सरकारबाट नाका बन्द गरिएपछि नेपालले कुटनीतिक पहल थालेको भन्सार विभागले जनाएको छ । परराष्ट्र र वाणिज्य मन्त्रालय हुँदै भारतीय दूवासलाई नाका बन्दबारे जानकारी गराइसकेको छ।

प्रकाशित मिति: : 2020-04-16 09:20:11

प्रतिकृया दिनुहोस्