नेपाली सुरक्षा गार्डको आँखामा कोरोनाले विदेशमा गरेको असर   

चीनको हुवेई प्रान्तबाट शुरू भएको कोरोना भाइरस अहिले विश्वका अधिकांश मुलुकलाई आर्थिक, सामाजिक एवं मनोवैज्ञानिक असर पारेको छ। 

यस्तो भयावह स्थितिमा पनि नेपालीहरू कसरी आफ्नो काम र कर्तव्यलाई आत्मसाथ र बलिदानीपूर्वक आफ्नो सेवामा तत्पर लागिपरेका छन्। जहाँ अधिकांश प्रहरी, चिकित्सकले मात्र काम गरिरहेको भन्ने समाचार आइरहँदा सुरक्षा गार्डले पनि आफ्नो ज्यानको बाजी लगाएर काम गरिरहेका छन्। पर्दा पछाडिको नायकको भूमिकामा रहेकाले कस्तो भोगाई भोगेका छन् त ? यही विषयमा विदेशमा रहेका नेपाली सुरक्षा गार्डको आफ्नो भोगाइ जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ।

भक्त खोर्जा (दुबई, सुरक्षा गार्ड)


कोरोना भाइरसका कारण ११ जना नेपालीको शब युएईमा अलपत्र पर्नुले कतै आफैं पनि यस्तोमा त परिदैन? भन्ने चिन्ता रातदिन लागिरहन्छ। 

जसरी प्रहरी, डाक्टर यहाँ खटिएको छ त्यसरी हामी सुरक्षा गार्ड पनि अरूको ख्याल गर्न लागि पर्नुपरेको छ। अरूलाई यो रोग लाग्दा लाग्दै कतै आफैंलाई पनि लाग्छ कि भन्ने डर हुन्छ। दिनहुँ यहाँ यो रोगको संख्या बढिरहँदा आफैंलाई पनि घर परिवारको चिन्ता लागेको छ।

मेरो काम सधै यहाँ काम गर्ने कामदारसँग भइरहेको हुन्छ। कमसेकम यस्तो बेला घरमा बस्न पाए केही राहत हुने थियो कि भनेर आफूलाई विदेशीनुको बाध्यताले सधै रातभर निन्द्रा पर्दैन। तर पनि आफ्नो कर्तव्यलाई शिरोपर राखेर कामलाई महत्व ठानेर आफ्नो भूमिका निर्वाह गरिएको छ। हामी चिकित्सक, प्रहरी नभएपनि सुरक्षा गार्डले पनि सहयोग गर्न सक्छ भनेर लागिपरिएको छ।

महेश नेपाली (अबुधाबी, सुरक्षा गार्ड)


लगातार १२ घन्टा काम अनि काम गर्ने ठाउँमा अनेकौं थरीका मान्छेको आवत जावत, उनीहरूको परिचय लिएर सबै जानकारी लेख्नुपर्छ। उनीहरू कति ठाउँमा गएर आएका हुनछन् र कति जनाको सम्पर्कमा हुन्छन् त्यसैले तनाब छ।

क्याम्पमा एउटा रूममा १० जना बस्नुपर्ने त्यसमा पनि थरिथरी ठाँउमा काम गर्नेहरू बसेको हुनेगर्छ जसका कारण महामारी यो रोग लाग्ने सम्भावना बढी देखिन्छ। तर पनि आफ्नो कामलाई मध्यनजर गरी यस्तो बेला पनि कामलाई प्राथमिकता दिनु आवश्यक देखिएको छ। आफू मरेर अरूलाई बचाउनुपर्ने खालको काम गरेको छु गर्व लाग्छ।

अर्जुन श्रेष्ठ (मकाउ, सुरक्षा गार्ड)



यहाँ भएका नेपालीमा खासै भन्नुपर्दा यो रोगको डर र भय कम नै देखिन्छ। यद्यपी जागिर गुम्ने र नेपाल फर्कनुपर्ने चिन्ताले पिरोल्न थालेको छ।

यो चीनको विशेष प्रशासनिक क्षेत्र हो। त्यसैले यहाँ कुनै पनि समाचार लेख्न अथवा प्रशारण गर्न रोक छ।

यहाँको सम्पूर्ण कारोबार पर्यटन व्यवसायसँग सम्बन्धित हुनाले अहिले सबै नाकाहरू बन्द भएका कारण सबै व्यवसाय र कारोबार ठप्प नै छ। तर सुरक्षाकर्मीको जागिर धरापमा भएका कारण रोगको डरभन्दा जागिर जाने डर बढी छ। 

रोग फैलिन नदिन यहाँ दिनरात सतर्कतामा विशेष ध्यान दिएको हुनाले अहिलेसम्म सुरक्षित छौं।

राजेश क्षेत्री (साउदी अरब, सुरक्षा गार्ड)


साउदीमा अहिलेसम्म कुनै पनि नेपालीलाई कोरोना लागेको छैन। हाल सम्म ४०४४ जना भन्दा बढ़ी यो रोगबाट ग्रसित छन्। यो रोग यहीँको स्थानीय तथा पाकिस्तानी, भारतीय, बंगालीलाई बडी देखिएको छ। 

हामीलाई काम गर्न गाह्रो भएको छ। जहाँ त्यहीँ त्रास छ, घरमा दिनहुँ कुरा भएको छ। यहाँको अवस्था बारेमा के कस्तो छ भनेर तर पनि आफ्नो ख्याल बढी राख्नुपर्छ। 

२४ घण्टा लकडाउन गरेको छ यहाँ रेस्टुरेन्ट र अस्पताल बाहेक अन्य सेवा बन्द छ। जागिर बाध्यताले खानुपर्ने अवस्था छ। छुट्टी दिएको छैन। छुट्टी दिए घर जान मन छ परिवार एकातिर आफू एकातिर हुनुपरेको यस्तो घडीमा सधै घरको याद आउने गर्छ। 

अहिलेसम्म न भूकम्पको डरको अनुभूति गरिएको थियो तर यहाँ आएपछि थाहा भयो भूकम्प भन्दा ठूलो डर यो रोगको लाग्या छ।

सञ्जय धिताल (दुबई, सुरक्षा गार्ड)


गरिब निमुखा जनताको भोट लिएर नेता प्रधानमन्त्री भएर दलाल र भ्रष्टाचारीको पक्षमा काम गर्ने सरकार मुर्दावाद यस्तो आपत विपत पर्दा जवाफदेही र जिम्मेवार निकाय निकम्मा हुनु यसैको परिणाम हो। 

लाल कमरेड दलालको घरमा किन बस्छन्? किनकि, लाखौं मुल्यको मूल्यवान पलङ अट्ने घर अरूको छैन। हामी अहिले यही नेपाल सरकारको गलत सोच, विचार र अभिमानले विदेशी भूमिमा पीडा लुकाई काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

राजन वाग्ले (अबुधाबी, सुरक्षा गार्ड)

हामी कति अभागी छौं। संसार भरका सरकारी गैर सरकारी संस्था कोरोनाविरूद्ध लडिरहेको छ। तर, बिडम्बना हामी पशुपतिनाथको भरोसामा अड़केको छौं। के हामी नेपाली साचै गतिलो बन्न नसकेको हो त। अहिले हामीलाई हाम्रो परिवारको चिन्ता र परिवारलाई हाम्रो चिन्ता अहिले बढी छ। 

हाम्रो सरकार गैर जिम्मेवार छ, कामको सही कार्य गर्देन तर यहाँ कार्यरत देशले कानुन सरकार, स्वास्थ्य राम्रो छ। त्यसैले यहाँको चिन्ता लिनुभन्दा आफ्नै देश परिवारको सुरक्षामा ध्यान दिन सके राम्रो हो।

ओमकार अखेलि (मकाउ, सुरक्षा गार्ड)


अरू राष्ट्रको तुलनामा यहाँ काम गर्न सजिलो त छ तर रोगको डर भने कम छैन। बेलैमा यहाँको सम्पूर्ण नाकाबन्द भएको कारण रोग बढी फैलन पाएको छैन। 

हालसम्म ४५ जनाभन्दा बढीमा देखिएको छैन। तर यहाँ व्यवसायिक क्षेत्रमा रोक लाग्नाले र समयमै सबै जनतालाई १५ दिन क्वारेनटाइनमा राखेको हुँदा यो रोग फैलन पाएको छैन। तर पनि प्रायः पसलहरु बन्द नै छ। 

कतिलाई सुरक्षाको हिसाबले काममा लगाएको छैन, कुनै कुनै अति आवश्यक कामको लागि मात्र कामदार खटाएको छ। तर हामी भने सुरक्षा गार्ड भएर दिनरात लागिपरेका छौं तर हाम्रो काम को मूल्यांकन कही गरिएको देखिँदैन।

प्रकाशित मिति: : 2020-04-12 11:12:41

प्रतिकृया दिनुहोस्