सरकारको अनुहार देखिने यो ऐना

जसको बासमा पिउने पानी र खाने अन्न छैन, उसका लागि ‘हात धोऊ, घरै बस !’ आज्ञा कठोर उपहास र क्रूर ठट्टा सिवाय अरू के नै पो होला र ?

भोका श्रमिकहरु जब सिंहदरबार र बालुवाटार दरबारको विश्वासघातको चोटले आहत हुन्छन्, उनीहरु निरुपाय भई सान्त्वनाका लागि पशुपतिनाथको मुख ताक्छन् । यसैकारण होला सायद अचेल एक हुल भोका श्रमिक सखारै सपरिवार पशुपतिनाथको मन्दिर जान्छन् र कसैले केही खान देला कि भनी दिनभरि भौँतारिइरहन्छन् । पाए केही खान्छन्, नपाए फुस्रा ओठ लिएर सुस्केरा हाल्दै ती आफ्ना गुँडतिर फर्किन्छन् ।

 

कोरोना आतङ्कले जब जगतलाई लपट्नै लग्यो, सदाझैँ वैराग्यकमुखी  दार्शनिक प्रकट भए । पाँच वर्षअघि भूकम्पको याममा पनि ती  प्रकट भएकै थिए । राजधानीको टुँडिखेलमा पल्लो पालमुनि एक भद्रजन शरण परेका थिए, ओल्लो पालमुनि थिइन् एक सुत्केरी महिला । भद्रजनको जिब्रोबाट वैराग्य दर्शन प्रवाहित भयो– भूकम्पसामु न ठूलो–सानो कोही छ, न धनी–गरिबको कुनै भेद छ । सबै एकनास, सबै निरिह, सबै मरणशील । यसो भनिरहँदा ती भद्रजन मस्त मुद्रामा बोकेको सुकुटीसँग ब्ल्याक लेबलको चुस्की लगाउँदै थिए । उता सुत्केरी महिलासँग पिउने पानीधरि थिएन । भूकम्पका पराकम्पहरु जब किञ्चित मत्थर भए, वैराग्यपन्थी भद्रजन आफ्नो कङ्क्रिटको महलमा भित्रिने तरखरमा लागे । भित्रिनलाई महिलाको घर थिएन । काँचो माटोको उनको फुच्चे घर भूकम्पको धक्काले गल्र्याम्मै ढलेको थियो । बासको चिन्ताले महिला रोइरहेकी थिइन् । भद्रजनले जाँदाजाँदै अर्ती दिए– बहिनी, भावुकतामा नबग । जिन्दगी यस्तै हो, सबैका दुःख छन् ।

अहिले कोरोना कालमा वैराग्यको उही बासी टेप दोहोरिँदो छ– कोरोनाले धनी–गरिब चिन्दैन, ठूलो–सानो भन्दैन । सबै एकनास, सबै निरिह, सबै मरणशील । तर जीवनको निर्मम यथार्थ सर्वथा फरक छ । यो भयावह कोरोना कालमा सरकारको दृष्टिमा कोही ठूलो छ, कोही सानो । कोही आफ्नो छ, कोही बिरानो । कोही ग्राह्य छ, कोही त्याज्य । लाग्छ, सरकार विपन्न, बहिष्कृत र निमुखाहरुप्रति यति उदासीन, यति क्रूर र यति विभेदकारी सायद कहिल्यै थिएन । चीनको उहानमा लकडाउनमा लक्ड भएका विद्यार्थीहरुलाई सरकारले विमान चार्टर गरी घर फर्कायो । ठीकै गर्‍यो । तर भारतबाट घर फर्किन खोज्ने श्रमिकहरुलाई बन्दुक ताकेर महाकालीपारि रोक्यो । छन् त यी दुवैथरि नेपाली नै थिए । तर सरकारको नजरमा उहानबाट ससम्मान उद्धार गरिएका युवा महाकालीपारि अपमानपूर्वक कैद गरिएका श्रमिकभन्दा अलि बढी मूल्यवान् ठानिए ।

प्रकाशित मिति: : 2020-04-10 07:58:36

प्रतिकृया दिनुहोस्