कोरोना रोकथामका लागि खटिने स्वास्थ्यकर्मीलाई प्रत्येक दिन १५ सय रुपैयाँ भत्ता

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले कोरोना रोकथामका लागि खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रत्येक दिन १५ सय रुपैयाँ भत्ता दिने निर्णय गरेको हो।

यस्तै बैठकले निजी क्षेत्रका चिकित्सकलाई पनि उपचारमा खटाउने र त्यसबापत सरकारी चिकित्सकले पाउँदै आएको सेवासुविधा उनीहरुलाई दिने निर्णय पनि गरेको छ।

बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने, ‘निजी क्षेत्रका चिकित्सकहरुले पनि सरकारी अस्पतालहरुमा आएर काम गर्न चाहेमा वा काम गर्न खोजेमा सम्बन्धित तहअनुसार मिलान गरेर काम गर्न अवसर दिने र उहाँहरुले पाउने सुविधा सरकारी चिकित्सकहरुले पाउनेसरहको हुने छ र उहाँहरुको तह पनि त्यसैअनुसार मिलाइने छ ।’

कोरोना नियन्त्रण तथा रोकथाममा खटिने चिकित्सक, नर्स र सुरक्षाकर्मीको मनोबल उकास्न zत प्रतिशत भत्ता दिने निर्णय यसअघि नै गरिसकेको छ।

यता संसदका दुबै सदन तत्काललाई बन्द गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ। 

कोरोना भाइरस (कोभिड-१९) का कारण प्रतिनिधिसभा बैठक चैत ७ गते यता बस्न सकेको छैन। १३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएको थियो ।

तर, त्यसअघि नै सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

प्रकाशित मिति: : 2020-04-06 16:40:38

प्रतिकृया दिनुहोस्