के तपाईं कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाइएको लकडाउनका वेला घर बस्दाबस्दा दिक्क हुनुभएको छ ?
परिस्थितिले सिर्जना गरेको अनिवार्य घर बसाइका कारण तपाईंलाई अवश्य केही दिक्क लागेको हुन पनि सक्छ ।
तर, यस्तै विपतका वेला बाध्य भएर घरमा बस्नुपर्ने समय सदैव खराब भने मान्नुहुँदैन । जसरी महान् वैज्ञानिक सर आइज्याक न्युटनले यस्तैखाले अनिवार्य घर बसाइको समयलाई सदुपयोग गरेर विश्वलाई महान् सिद्धान्त प्रदान गरे ।
सर आइज्याक न्युटन मात्र २० वर्षका थिए, जब बेलायतमा प्लेगको महामारी फैलियो । त्यतिवेला उनले ‘सर’ उपाधि पनि पाइसकेका थिएनन् । उनी क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजका विद्यार्थी मात्रै थिए ।
१७औँ शताब्दीमा प्लेग महामारी गराएको ब्याक्टेरिया, झन्डै दुई सय वर्षपछि १९औँ शताब्दीमा पत्ता लागेको थियो । तर, रोग के–कसरी लाग्दै छ ? भनेर स्पष्ट थाहा नहुँदा, त्यतिवेला पनि मानिसलाई अहिलेजस्तै लकडाउनमा अर्थात् सबैलाई घरमै बस्न भनिएको थियो ।