सरकारले भन्यो– लकडाउनको अवधि बढ्न सक्छ, सतर्क रहौं

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा: डा. देवकोटा

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले लकडाउनको अवधि बढ्न सक्ने बताएकाे छ। सुदूरपश्चिमका थप तीन जना नेपालीमा कोरोना संक्रमण देखिएको र यो संक्रमण नेपालभित्रै रहेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइएकाले लकडाउनको अवधि बढ्न सक्ने बताएकाे हाे।

शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउन सबैलाई पुनः आग्रह गरे।

उनले भने  ‘अहिले १४ दिन क्रस गर्दाखेरि पनि पुनः परीक्षण गर्दा केहीलाई पोजेटिभ देखिएको छ। त्यो हिसाबले हेर्दाखेरि क्वारेन्टाइनको अवधि बढ्ने देखिन्छ। यहाँहरु क्वारेन्टाइनमै बसिदिनुहोला।’

डा‍. देवकाेटाले लकडाउनलाई अझै कडाइका साथ पालना गर्न आग्रहसमेत गरे।

 नेपाल संक्रमणको दोस्रो चरणमा

 कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको घटनाले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताए।

भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ। त्यस्तै, यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमित महिला चौथो संक्रमित व्यक्तिका भाउजु हुन्। संक्रमित व्यक्ति युएईबाट नेपाल आएका थिए।

पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि गरेकाे हाे।  ३४ वर्षीया महिला कैलालीस्थित घरमै रहेकी थिइन्।

उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनैजनामा संक्रमण पोजेटिभ पाइएको हो। उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ।

यसले नेपालमै रहेको एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको पाइएकाले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको डा. देवकोटाले बताए।

प्रकाशित मिति: : 2020-04-04 17:12:03

प्रतिकृया दिनुहोस्