राहत वितरणमा कैलालीका स्थानीय तह

रासस

घोडाघोडी

लकडाउनका कारण दैनिक ज्याला मजदूरी गर्न नपाएर समस्यामा परेका परिवारलाई राहत दिन यतिबेला कैलालीका स्थानीय तहहरू आआफ्नै योजना बनाएर अघि बढिरहेका छन्। केही स्थानीय तहले लगत सङ्कलन गरी राहत वितरण गरिसकेका छन् भने केही लगत सङ्कलनमा जुटेका छन्।
 
लकडाउनका समयमा मजदूरी गरेर बिहानबेलुकाको छाक टार्ने मजदूर वर्गलार्ई समस्या परेका र कतिपय श्रमिकको घरको चुल्हो नबल्ने स्थिति आएकाले आफूहरूले  नगरपालिकाका करीब छ हजार पाँच सय विपन्न परिवारलाई  खाद्यान्न वितरण गर्ने गरी तयारी थालेको  लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईँले जानकारी दिए।
 
नगर प्रमुख बजगाईँले वडाबाट लगत संकलन भई आउने काम अन्तिम चरणमा रहेको र आजदेखि खाद्यान्न वितरण गर्ने तयारीमा लागिरहेको बताए। उनले खाद्यान्न वितरणका लागि नगरले अवस्था हेरेर रु एक करोडसम्म खर्च गर्ने गरी स्थानीय तह अघि बढेको बताए।
 कैलालीको गौरीगंगा नगरपालिकाले भने खाद्यान्न वितरण गरिसकेको छ। 

नगरपालिकाले आफ्नो नगरपालिकाभित्र रहेका ११ वडाका करीब ३०० परिवारलाई खाद्यान्न वितरण गरिसकेको नगरपालिका प्रमुख भीमबहादुर देउवाले जानकारी दिए। नगरपालिकाले लगत सङ्कलन भइआएका विपन्न परिवारलाई प्रतिपरिवार चामल, दाल, तेल, नुन र आलु वितरण गरिएको र लकडाउन बढ्ने स्थिति आए थप व्यवस्था गर्ने गरी अघि बढेको नगर प्रमुख देउवाले बताए।
 
कैलालीकै अर्को स्थानीय तह गोदावरी नगरपालिका भने कार्यविधि बनाएर नै अघि बढेको छ। नगर प्रमुख हरिसिंह साउदका अनुसार वडामा लगत सङ्कलनका क्रममा अस्वाभाविक नामावली आएपछि कार्यविधि बनाएर अघि बढ्नुपरेको हो। शुरुआती चरणमा नगरभरिका घरधुरीमध्ये आधा घरदूरीले नै राहत पाउने गरी अस्वाभाविक लगत आएपछि कार्यपालिकाले एउटा कार्यविधि बनाउनुपरेको नगर प्रमुख साउदले बताए।

प्रमुख साउँदका अनुसार बाह्रै महिना मजदूरी गरेर खाने र असहाय, अपाङ्गता भएका व्यक्तिले राहतस्वरूप खाद्यान्न पाउनेछन्। सोका लागि नगरपालिकाले रु एक करोड  विनियोजन गरेको छ। नगरपालिकामा रहेका अतिविपन्न परिवारको लगत सङ्कलन गरी राहत वितरणमा लागेको कैलालीको अर्को स्थानीय तह घोडाघोडी नगरपालिकाले पनि आफ्ना विभिन्न वडामा राहत वितरणको कामलाई अघि बढाएको छ।

 घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीका अनुसार नगरपालिकामा सङ्कलन भएको लगतअनुसार सात सय परिवारलाई खाद्यान्न वितरण गरिनेछ। नगरपालिकाले अहिले प्रत्येक परिवारलाई दाल, चामल, पिठो, भटमास, तेललगायत खाद्यान्न सामग्री वितरण गरिरहेको प्रमुख चौधरीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-04 11:09:56

प्रतिकृया दिनुहोस्