चन्द्रागिरीका १५२ जना ‘होम क्वारेन्टाइनमा’

रासस

काठमाडौँ

चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेको छ। 

कारोना भाइरस( कोभिड–१९ )को सम्भावित जोखिमलाई ध्यान दिँदै सो नगरपालिकाले १५२ जनाको नामवली सङ्कलन गरेको हो ती सबैलाई ‘होम क्वारेन्टाइन’ राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र रहेका अनाथ, असाहय, गरिब र मजदूरका लागि राहत वितरण मापदण्ड तयार गरेको छ।
 
नगरपालिकाले बनाएको मापदण्डअनुसार तीन जनाको परिवारलाई १० किलोग्राम मन्सुली चामल, एक किलोग्राम मुसुरो दाल, एक किलोग्राम नुन, दुई किलोग्राम च्यूरा, एक किलोग्राम चिनी र दुई पिस साबुन रहेको छ। 

 राहत लिनका लागि व्यक्तिले आफ्नो नाम, आफ्नो परिवारको सङ्ख्या, आफूले गर्दै आएको काम, घरवेटीको नाम र घरबेटीको नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ। 

 नगरपालिकाले थानकोटमा रहेको नगरस्तरीय अस्पताललाई क्वारेन्टाइन निर्माण गर्नका लागि छलफल गरिरहेको छ। नगरपालिकाका प्रमुख घनश्याम गिरीले थानकोट अस्पताल र दहचोकमा रहेको मनमोहन अस्पताललाई क्वारेन्टाइन बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए।

नगरपालिकाले उक्त दुई अस्पताललाई क्वारेन्टाइन बनाए झण्डै ५० क्षमताको सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण हुनेछ। यस्तै, नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म र भित्री बजार क्षेत्रमा किटनाशक औषधि छर्किसकेको छ। चन्द्रागिरिमा कोठा लिएर बस्ने मजदूर तथा विद्यार्थीलाई सम्बन्धित व्यक्तिको घरसम्म पु¥याउनका लागि बसको व्यवस्थासमेत नगरपालिकाले मिलाएको छ।

प्रकाशित मिति: : 2020-04-02 13:47:23

प्रतिकृया दिनुहोस्