कोरोना भाइरस (कोभिड—१९) का कारण बाँके जिल्ला कारागारका कैदीबन्दीको स्वास्थ्य सुरक्षाको चिन्ता बढेको छ। मानववस्तीको बीचमा रहेको कैदीबन्दीको आचरण सुधारका लागि विसं. २००० मा स्थापना गरिएको यो कारागारमा अहिले ८२० कैदीबन्दी छन्।
सो कारागारका जेलर देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार कारागार विभागवाट तीन सय कैदीबन्दी राख्न सकिने क्षमता तोकिएको छ। क्षमताभन्दा अधिक कैदीबन्दी राखिएपछि अहिले उनीहरुको स्वास्थ्य सुरक्षाको चुनौती पनि बढेको छ।
'कैदीबन्दीको खानपानदेखि सबैखाले सुरक्षाको चुनौती पहिले पनि थियो। तर, कोभिड—१९ को महामारी विश्वव्यापी भएपछि ऊनीहरुको स्वास्थ्य र सुरक्षा चिन्ता बढेको हो', जेलर श्रेष्ठको भनाइ थियो।
जेलर श्रेष्ठका अनुसार ५२ महिला, दुइ नाबालक र ७६६ पुरुष गरी ८२० कैदीबन्दी कारागारमा छन्। कारागारका स्वास्थ्यकर्मीले ऊनीहरु सबैको ज्वरो लगायत कोरोना लक्षणको जाँच गरिसकेका छन्। कारागार प्रशासनले ज्वरो जाँच्ने उपकरण आपैm खरिद गरेको जनाएको छ।
कारागारले अहिले कैदीबन्दीसँग ऊनीहरुका आफन्तसँगको भेटघाट रोकेको छ भने आफन्तीले ल्याएको खाना सेनेटाइज गरेर मात्र दिने गरिएको छ। कुनै कैदीबन्दी बिरामी भएमा तुरुन्त नजिकको भेरी अस्पताल लग्ने गरिएको जेलर श्रेष्ठले बताए। अहिलेसम्म कोरोनाको सङ्क्रमणवाट सबै कैदीबन्दी सुरक्षित भएपनि कारागारले धान्नै नसक्ने सङ्ख्यामा कैदीबन्दी भएपछि उनीहरुको स्वास्थ्य चिन्ताको विषय जटिल देखिएको छ।
यसैगरी, नेपालगन्ज वडा नंं १० मा मानववस्तीको बीचभागमा रहेको बाँके कारागारको भौतिक अवस्था पनि अहिले जिर्ण हुँदै गएको छ। स्थापना हुँदा बनेका दुइ भवन र पर्खाल एकदमै पुराना भैसकेका छन्। कारागारमा कैदीको सङ्ख्या पनि बढदै गएको छ। कारागारको वरिपरिको वातावरण पनि एकदमै फोहर छ। कारागारबाट निस्केको फोहर कारागार हाताभित्र फालिन्छ। ढल निकासको व्यवस्था छैन। फोहर बढी भएकोले कैदीहरु पनि अधिक सङ्ख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ। फोहरकै कारण कैदीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो हुने गरेको छ।
कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदी रहेकाले सुरक्षामा चुनौती थपिएको बताएको छ। ‘क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनावस्तीको बीचमा कारागार हुनुका कारण सुरक्षा चुनौती बढेको हो’, जेलर श्रेष्ठको भनाइ छ।
कारागारको बाहिर क्षेत्रमा मानववस्ती बाक्लिदै जानु तथा कैदीबन्दीको अनुपातमा कारागारको भौतिक संरचना साँघुरो भएपछि सरकारले अहिले बाँकेको गनापुरमा खुल्ला कारागार निर्माण कार्यसमेत शुरु गरेको छ। आठ विगाह क्षेत्रफलमा रहेको खुल्ला कारागारको दुइ कोठा र व्यारेक निर्माण कार्य सकिएको छ भने अन्य संरचना निर्माण अहिले रोकिएका छन्। यसैगरी, बाँकेकै नौवस्तामा पनि १० विगाह क्षेत्रफलमा क्षेत्रीय कारागारको निर्माण कार्य थालिएको छ। यी दुवै कारागारको निर्माण कार्य पाँच वर्षभित्र सक्ने समय निर्धारण गरिएको छ।