नेपालका विभिन्न क्षेत्रमा मजदूरी गरी बसेका भारतीय नागरिकलाई प्रशासनले उद्दार गरी क्वारेन्टाइनमा राखेको छ।
महामारीका रुपमा विश्वभरनै फैलिएको केरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका बेला निस्किएका भारतीय मजदूरलाई रुपन्देही जिल्ला प्रशासनले उद्दार गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ।
भारतका विभिन्न क्षेत्रका स्थायी बासिन्दा रहेका १५० भन्दाबढी मजदूरलाई लकडाउनको समयमा भारततर्फ जाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरेर भैरहवास्थित निमा–प्रतिमा प्राविधिक शिक्षालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ।
उद्धार गरिएका मजदूरमा १४ जना महिला र अन्य पुरुष रहेका छन्। क्वारेन्टाइनमा प्रवेश गर्नु अघि उनीहरु सबैको स्वास्थ्य जाँच गरिएको थियो। उनीहरुको नियमित स्वास्थ्य जाँचका लागि क्वारेन्टाइनमा व्यवस्थासमेत गरिएको छ। तीन तलाको कलेज भवनका कोठामा उनीहरुलाई व्यवस्थित तरिकाले राखिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिए।
क्वारेन्टाइनमा रहेका भारतीय नागरिकको सुरक्षासमेतलाई मध्यनजर राख्दै क्वारेन्टाइनमा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए। यस्तै उनीहरुको सम्पूर्ण खानपिनको व्यवस्था सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गरेको नगरपालिकाका कार्यकारी प्रमुख तुल्सीराम मरासिनीले जानकारी दिए।
क्वारेन्टाइनमा बसेका भारत बिहारका रविन मोदी आफु भारतबाट रेल चढेर नेपाल–भारत सीमादेखि झण्डै आठ किलोमिटर नौतनवा आएको र त्यहाँबाट पैदलै नेपालसम्म आउँदा प्रहरीले समातेर क्वारेन्टाइनमा ल्याएको बताए। उनले आफुलाई के कारणले क्वारेन्टाइनमा ल्याइयो भन्ने कुनै जानकारी नभए पनि यहाँको व्यवस्थापन र व्यवहार भने सन्तोषजनक रहेको बताए।
यस्तै भारतको गोरखपुरका बाबुलाल साहानी काठमाडाँै बाफलस्थित गार्मेन्ट उद्योगमा कपडा सिलाउने काम गर्दै आएकामा सबै बन्द भएपछि घर जान काठमाडौँबाट पैदलै सीमा क्षेत्रमा पुग्दा सीमापार गर्न भारतीय सुरक्षाकर्मीले रोकेपछि नेपाल प्रहरीले उद्धार गरेर क्वारेन्टाइनमा ल्याएको बताए। साहानीसहित काठमाडौँमा सिलाइको काम गर्दै आएका २८ जनाको टोली पैदलै सीमाक्षेत्रमा आइपुगेको थियो। क्वारेन्टाइनमा आवास र खानपिनको व्यवस्थापन व्यवस्थित गरिएको उनीहरुको भनाइ छ।
भैरहवास्थित एक फर्निचर कारखानामा रङ्गरोगनको काम गर्दै आएका भारत उत्तर प्रदेश देवरियाका साधु यादव आफुसँगै काम गर्ने अन्य दुई जना सहकर्मीसहित भारतस्थित घरमा जानलाग्दा रोकिएको बताउछन्। उक्त क्वारेन्टाइनमा राखिएका भारतीय नागरिकको अवस्था बारे आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभाका प्रमुख सचेतक भुमिश्वर ढकालले निरीक्षण गरे। त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी पन्तलगायत सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो।
प्रमुख सचेतक ढकालले महामारीको सङ्क्रमण नियन्त्रणका लागि नेपालमा रहेका भारतीय नागरिकलाई नेपालमा क्वारेन्टाइनमा रहँदासम्म सम्पूर्ण व्यवस्थापन नेपाल सरकारले गर्ने बताए। प्रमुख जिल्ला अधिकारी पन्तले भारतीय नागरिकको सम्पूर्ण व्यवस्थापन, स्वास्थ्य र सुरक्षाको व्यवस्थापन गरिएको बताए।