वाग्मती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिले प्रदेशसभा सदस्यलाई कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि भएका कामको अनुगमन गर्न आग्रह गरेको छ।
प्रदेशका मुख्यमन्त्री तथा समितिका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिमार्फत भएका उपचारका कामको अनुगमन गर्न आग्रह गर्ने निर्णय गरेको हो।
यसैगरी वाग्मती प्रदेश कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष खाताबाट स्थानीय तहमा रकम पठाउन विपद् व्यवस्थापन कार्यकारी समितिलाई बैठकले निर्देशन दिएको छ।
मुख्यमन्त्री पौडेलको अध्यक्षतामा निर्देशक समिति र आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा व्यवस्थापन समिति छ।
समितिले यसअघि नै १३ जिल्लाका विपद् व्यवस्थापन समितिलाई ५ लाखका दरले ६५ लाख, ३ महानगरपालिकाका समितिलाई २० लाखका दरले ६० लाख, एउटा उपमहानगरपालिकालाई १५ लाख, ४१ नगरपालिकालाई १२ लाखका दरले ४ करोड ९२ लाख र ७४ गाउँपालिकालाई ७ करोड ४० लाख गरी कूल १३ करोड ७२ लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ।