झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले विपन्न परिवारलाई राहत दिन रु आठ लाख सहयोग गर्ने भएको छ।
जिल्लाका १५ वटा स्थानीय तहका विपन्न परिवारका लागि राहत अभियानमा सघाउन सहकारीले उक्त रकम दिन लागेको संस्थाका अध्यक्ष टसबहादुर प्रधानले जानकारी दिए।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले देश लकडाउन गरेपछि दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका नागरिक समस्या भएकाले सहयोग गर्न लागिएको उनले बताए।
'एकद्वार प्रणालीबाट राहत वितरण गर्ने पालिकाहरुको निर्णय रहेकाले राहत कोषमा जम्मा हुने गरी सहयोग गर्ने निर्णय भएको छ', अध्यक्ष प्रधानले भने।
संस्थाले झापाका १४ स्थानीय तहलाई रु ५० हजारका दरले र संस्थाको मुख्य कार्यालय रहेको बिर्तामोड नगरपालिकालाई रु एक लाख सहयोग दिने जनाएको छ। २० वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको कर्णालीमा ३३ हजार सदस्य आवद्ध छन्
कोरोना कोषमा २ लाख ७५ हजार सहयोग
झापाको कनकाई नगरपालिकाले स्थापना गरेको कोरोना सङ्क्रमण न्यूनीकरण तथा व्यवस्थापन कोषमा विभिन्न व्यक्ति एवं सङ्घसंस्थाले रु दुई लाख ७५ हजार सहयोग गरेका छन्।
नगरपालिकाले स्थापना गरेको कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कनकाई नगर कमिटीले रु ५१ हजार, रोटरी क्लब कनकाईले रु एक लाख एक हजार र हङकङमा रहेका कनकाई सुरुङ्गा निवासी युवा रभी श्रेष्ठले रू एक लाख २३ हजार दिएका छन्।
नेकपा कनकाई नगर अध्यक्ष रवीन्द्र लम्सालले कोरोनाको सङ्क्रमणबाट बच्न र अतिविपन्न परिवारलाई राहत दिन नगरपालिकाले स्थापना गरेको कोषमा रकम सहयोग गरेको बताए। लकडाउनका कारण खान धौधौ भएका नागरिकलाई यथासक्य चाँडो राहत दिन उनले अनुरोध गरे।
नगरपालिकाको विपद्मा रहेकालाई सहयोग गर्न महारामारी नियन्त्रण गर्न राहत कोष स्थापना गरेकाले संस्थाले होस्टेमाहँैसे गर्न रकम दिएको रोटरी क्लब कनकाईका अध्यक्ष कुमारमणि पोखरेलले बताए। 'विपद् परेका बेला सहयोग गर्न संस्था हरदम तयार छ', उनले बताए।
मङ्गलबार कनकाई नगरपालिकाले रु ३० लाखको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ। उक्त रकममा यहाँका जनप्रतिनिधिको एक महिनाको पारिश्रमिक र कर्मचारीबाट प्राप्त गरी करिब रू पाँच लाख रकम थप गरिएको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए।
'कोषमा जम्मा भएको रकमबाट पीडितको औषधि उपचार तथा राहत सामग्री वितरण गर्नेछौँ', नगरप्रमुख पोखरेलले भने, 'कोषमा सहयोग गर्न चाहने सङ्घसंस्था, व्यक्ति एवं सबै सहयोगी हातहरुलाई अनुरोध गर्दछु।'
कोरोना विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्न चाहनेले नगरपालिकाको नेपाल बैंक सुरुङ्गा शाखामा रहेको खात नं १४७०३००००००००५००४००२ मा जम्मा गर्न सकिने नगरपालिकाले जनाएको छ।
कोषको रकमको खर्च पारदर्शी बनाउन नगरपालिकाको वेब साइटमा सार्वजनिकीकरण गर्ने व्यवस्था मिलाइएको नगरप्रमुख पोखरेलले बताए।
लकडाउनको समय लम्बिएसँगै नगरमा रहेका विपन्न परिवार भोकभोकै रहनुपर्ने अवस्था आउन नदिन नगरपालिकाले भोलि÷पर्सीदेखि नै राहत प्याकेज ल्याउने भएको छ।
'अहिले नै खान समस्या भएका परिवारलाई जनप्रतिनिधि र टोल समिति परिचालन गरेर राहत दिने काम भइरहेको छ', नगरप्रमुख पोखरेलले भने, 'सबैले समान रुपमा राहत पाउन् भनेर एकद्वार प्रणालीबाट राहत वितरण गर्न लागिएको छ।'
एकद्वार प्रणालीबाट नगरपालिकाबाटै राहत वितरण गरिने भएकाले आफूखुशी राहत नबाँड्न नगरपालिकाले सबैलाई अनुरोध गरेको छ। सहयोग गर्न चाहनेले नगरपालिकामा सम्पर्क गरेर राहत उपलब्ध गराउन र समस्यामा परेका परिवारलाई नगरपालिकामार्फत वितरण गर्न अनुरोध गरेको हो।
कोभिड–१९ को सङ्क्रमण हुन नदिन नगरपालिकाले ४० बेडको क्वारेन्टाइन निर्माण गरेको छ। शङ्कास्पद बिरामीलाई राख्नका लागि खानेबस्नेदेखि इन्टरनेट (वाइफाइ)सहितको सुविधासहितको क्वारेन्टाइन निर्माण गरिएको नगरपालिकाका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत पिताम्बर गौतमले जानकारी दिए।
क्वारेन्टाइनमा चाहिने आवश्यक खाद्यान्न सहयोग सहारा नेपाल साकोसले गरिरहेको छ। नगरपालिकाले नगरप्रमुखको संयोजकत्वमा विपद् व्यवस्थापन समिति र कार्यविधि बनाएको छ भने विपन्न परिवारको लगतसमेत सङ्कलन गरिरहेको छ।