वीरगञ्ज पुगेका ३५२ नेपाली र भारतीय अलपत्र, शौचालय प्रयोगमा समेत बञ्चित

वीरगञ्ज ३५२ जना नेपाली तथा भारतीय नागरिक अलपत्र परेका छन्। अलपत्र पर्नेमा भारत बिहारका मजदुर र केही बारा पर्सा आसपासका नागरिक रहेको जनाइएको छ।  

लकडाउनको समयमा देशका विभिन्न जिल्लाहरुबाट भारतीय तथा पर्सा आसपासका केही नागरिक पैदल तथा अन्य साना सवारी साधनको माध्यमबाट लुकिछिपि आ–आफ्नो गन्तव्यतर्फ जान लागेका अवस्थामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले म‌ंगलबार राती पक्राउ गरेको थियो।

उनीहरुमा अधिकांश दैनिक ज्यालादारी गर्ने मजदुर रहेको पर्सा प्रहरीले जनाएको छ।

 उनीहरुलाई ठाकुरराम बहुमुखी क्याम्पसको शिक्षा संकाय भवनमा राखिएको छ। काठमाडौं लागयत देशका विभिन्न जिल्लाबाट भोकै प्यासै दिन रात ३/४ दिनको हिडाईपछि उनीहरु वीरगञ्ज पुगेका थिए। 

अहिले नेपालका साथै छिमेकी राष्ट्रि भारत पूर्ण रुपमा लकडाउन भएको हुदाँ लुकिछिपी सिमामा पुगेका भारतीय नागरिकहरुलाई प्रवेशमा रोक लगाइएकाले यहाँका प्रहरी प्रशासनलाई उनीहरुको व्यवस्थापन गर्न समस्या भएको छ।


उनीहरुलाई राखिएको कोठामा शौचालय तथा पानीको व्यवस्था नरहेको पीडीतहरुले जानकारी दिएका छन्। ‘रातभरी आफूलाई शौचालय प्रयोगबाट बञ्चित भएका छौं,’एक भारतीय नागरिकले बिएल नेपाली सेवालाई भने।

सयौंको सख्यामा एकठाउँमा भेला भएकाबाट कोरोनाको सकंम्रण फैलने जोखिम रहेकोले अब नेपालतर्फको नागरिकलाई के गर्ने भन्ने बारेमा छलफल भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीले जनाए। 

प्रकाशित मिति: : 2020-04-01 10:04:28

प्रतिकृया दिनुहोस्