ईरा ज्ञवाली
सम्पादकीय नोट: हामीले लकडाउनको समय केटाकेटीहरूको अनुभव शृंखला सुरू गरेका छौं। तपाईंहरू पनि आफ्ना नानीबाबुलाई फुर्सदको समय लेखपढमा लगाउनुहोला।
उनीहरूलाई आफ्नो अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक लेखनमा प्रेरित गर्नुहोला। ती लेख तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कक्षा ६ को परीक्षा दिएर म अहिले घरमै बसिरहेकी छु। हुन त परीक्षा दिएपछि केही दिन बिदा हुन्थ्याे। तर यसपटकको बिदा अलि फरक छ।
वार्षिक परीक्षा दिएपछिको मेरो बिदा कहिले गुल्मीमा हजुरआमासँग बित्थ्यो, कहिले बुटवलमा काका-काकीसँग। काठमाडौंमा बाबा र मामु दुवै अफिस जाने भएकाले प्रायः म लामो छुट्टी हुनेबित्तिकै काठमाडौंबाहिर जान्थेँ। यसपटक बिदामा काठमाडौंबाहिर त के, घरबाहिर पनि निस्कन पाइनँ। कारण, डरलाग्दो रूपमा संसारभर फैलिएको कोरोना भाइरस।