सोमबार, १५ डिसेम्बर २०२५

यी १०२ वर्षीय इटालियन हजुरआमा जसले जितिन् कोरोनालाई

News Image
• • •

मानव जाति र कोरोनाबीचको युद्धमा कोरोनाले जितेको मात्र छैन, हारेको पनि छ। अहिलेसम्म २७ हजार २५१ जनालाई कोरोनाले जितेको छ भने एकलाख ३२ हजार ६ सय २२ सँग हारेको छ। यो समाचार लेखिरहदा संसारका पाँचलाख ९४ हजार तीनसय ४४ मानिस र कोरोनाबीच युद्ध जारी छ।

कोरोनामाथि युद्ध जित्ने लाखौै विजेतामध्ये एक हुन् यी १०२ वर्षीय इटालियन हजुरआमा । सम्भवत: उनी कोरोनालाई पछार्ने सबैभन्दा जेठी हजुरआमा हुन् । उच्च मनोबलका सामु कोरोनाको दैया पनि चल्दैन भन्ने जिउँदोजाग्दे उदाहरण हुन् यी हजुरआमा।

उत्तरी इटालियन शहर जेनोवाकी यी हजुरआमाको नाम हो, ग्रोंडोना। उनी अस्पतालमा भर्ना भएरै कोरोनासँग युद्ध लडिन्। २०दिनसम्म चलेको युद्धमा उनीसँग कोरोना नराम्ररी पराजित भयो । कोरोनालाई पछारेर उनी सकुशल घर फर्किन्। उनको उपचार गर्ने जेनोवाको सान मार्टिनो अस्पतालका डाक्टर भेरा सिसबाल्डी भन्छन्,'हामीले उनलाई 'हाइल्यान्डर' नाम दियौ। यसको अर्थ हुन्छ- अमर।'

इटालीमा कोरोनासँग युद्ध लडिरहेका वृद्धहरूका लागि आशाको दीयो बनेकी यी हजुरआमालाई देखेर धेरैलाई यो युद्ध जितिने आशा पलाएको बताउँदै डाक्टर सिसबाल्डी भन्छन् 'हल्का मुटुको विफलताका कारण उनी मार्चको सुरुमा अस्पतालमा भर्ना हुन आएकी थिइन्। उनमा केही हल्का कोरोना भाइरसका लक्षण पनि थिए त्यसैले हामीले उनलाई परीक्षण गर्यौं। परीक्षणबाट थाहा भयो उनीमा कोरोना संक्रमण भैसकेको छ।'

त्यसपछि उनको उपचार सुरू गरेको बताउँदै डाक्टर सिसबाल्डी भन्छन्, 'उनी सकारात्मक सोच र उच्च मनोबल भएकी एक वीरांगना थिइन् । हामीले थोरै मात्र काम गर्यौं। उनको उच्च मनोबल देखेर कोरोना नै पराजित भयो।'

'उनको केसबाट प्रभावित भएर यसलाई केस स्टडी नै बनाएर थप अध्ययन गरिहेका छौ, डा. सिसवाल्डी अगाडि भन्छन्, 'हामीले सेरोलोजिकल नमूना पाएका छौं। हामी उनीमाथि अध्ययन गरिरहेका छौैं।'

इटालीमा कोरोना भाइरसले वृद्धमाथि अत्याचार गरेको छ । त्यहाँ मर्नेमा अपवाद बाहेक सबै वृद्ध छन्। उनीहरूको औसत आयु ७८ वर्षको छ।

ग्रोंडोनाले कोरोनामाथि प्राप्त गरेको विजयले अहिले त्यहाँ कोरोनासँग युद्ध लडिरहेका हजारौ वृद्धको मनोबल उच्च भएको छ। उनीहरू भन्छन्, 'हामी पनि एक दिन  ग्रोंडोनाजस्तै कोरोनामाथि विजय प्राप्त गर्नेछौं ।'

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!