यीे पंक्ति लेखिँदासम्म आधिकारिक तवरमा नेपालमा कोभिड– १९ संक्रमित संख्या दुई अर्थात एकाइमा सीमित छ, जुन सन्तोषको कुरा हो। तर हजारको संख्यामा पनि परीक्षण नभएकाले अनेकौं आशंका विद्यमान छन्। त्यसैले हुनुपर्छ, ज्यादाभन्दा ज्यादा परीक्षणमा अन्तर्राष्ट्रिय संस्थाहरूले जोड दिएका छन्। धनी हुन् वा गरिब राष्ट्र, अहिले सर्वत्र लकडाउन, सटडाउन जस्ता कठोर उपाय अवलम्बन भइरहेको छ र महामारीबाट जोगिने हो भने आइसोलेसन (अलगथलग) मा बस्नु आवश्यक छ। त्यसका लागि हामी सबैले केही साता सम्भव भएसम्मको संसर्गलाई कटडाउन (कटौती) गर्नैपर्छ र यो नै कोरोना संक्रमणलाई ब्रेक डाउन अर्थात् ध्वस्त पार्ने बलियो उपाय हो। यदि कसैले हेलचेक्रयाइँ गर्छ भने उसले आफ्नो जीवन मात्र होइन प्रियजनको जीवनसँग पनि खेलबाड गरिरहेको छ। कतिपय मामलामा केही निकाय गैरजिम्मेवार देखिन सक्छन् तर नागरिक जिम्मेवार छन् भन्ने मान्यता प्रस्तुत गर्ने बेला हो यो। सरकारका कमीकमजोरी हुन सक्छन् तर नागरिक कमजोर छैनन् भन्नका लागि उदाहरण प्रस्तुत गर्ने बेला हो यो। त्यस्तो उदाहरण भनेको कोभिड–१९ संक्रमण रोकथाम/न्यूनीकरण/नियन्त्रणका लागि राज्य/सरकारसँगै हातेमालो गर्दै सहयोग गर्नु हो।
नर्बिसौं, नागरिक जति लापरबाह हुँदै जान्छन् कोभिड–१९ त्यति सक्रिय हँुदै जान्छ। तीन महिनापहिले चीनको वुहानमा कोभिड–१९ चियाउँदै गर्दा कतिपयलाई लाग्यो होला चीनको सीमा नाघेर नोबेल कोरोना युरोप र अमेरिका प्रवेश गर्न सक्दैन। बढी तापक्रममा कोरोना भाइरस बाँच्न सक्दैन भन्ने केहीको विश्वास थियो त गर्मी बढेपछि कोरोना स्वतः समाप्त हुने कतिपयको आशा थियो। तर युरोपको चिस्यानदेखि एसियाको गर्मी छिचोल्दै कोरोनाले निरन्तर साम्राज्य विस्तार गरिरहेको छ। यस क्रममा एउटा अचम्मको संयोग देखापरेको छ– जलवायु परिवर्तन (जप)/विश्वव्यापी उष्णता (विउ) र कोरोनाबीच अन्तरसम्बन्धको।