न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले कोरोना भाइ।स बुलेट ट्रेनभन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि अपिल गरेका छन्।
मंगलबार पत्रकारहरूसँग बोल्दै उनले संक्रमणको उच्चदर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताए। गभर्नर कुओमोले भनेका छन्, ‘संक्रमण दर हामीले सोचे भन्दा अधिक र हामीले सोचे भन्दा चाँडो छ ।’
संघीय सरकारले चार सय भेन्टिलेटर पठाएको प्रति पनि उनले आलोचना गरे। ‘हामीलाई अहिलेको अवस्थामा सहयोग चाहिएको छ र संघीय सरकारको सहयोग अपरिहार्य छ,’गभर्नर कुओमोले भने।
अमेरिकाको न्यूर्योकमा अहिलेसम्म संक्रमितको संख्या २५ हजार भन्दा बढी रहेको छ र कम्तिमा २१० जनाको मृत्यु भइरसकेको छ । न्यूयोर्कमा ३० हजार भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ केवल सात हजार रहेको उनले बताए। तत्काल सहयोग पाउन नसके कोरोना भाइरसको महामारी देशका अरु राज्यमा पनि न्यूर्योकमा जस्तै गरी फैलिने चेतावती उनले दिएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले मंगलबार अमेरिका कोरोना प्रकोपको अर्को केन्द्रविन्दु बन्ने सम्भावना रहेको बताएको छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका व्यवसायहरु आउँदो महिना अर्थात अप्रिलदेखि पुनः सुचारु हुने अपेक्षा रहेको बताएका थिए ।