सुदूरपश्चिमको दुबै शहर धनगढी र कञ्चनपुरमा भारतबाट फर्किएका सयौं नेपालीलाई दुई दिनदेखि सीमामा अलपत्र पारिएकाे छ। उनीहरूका लागि केन्द्र त टाढाको कुरा स्थानीय सरकार पनि बिरानो बन्न थालेको छ।
कोरोना भाइरसकाे संक्रमणको डरले भारतबाट देश फर्किएका नेपालीहरू धनगढी र कञ्चनपुरको सीमामा अलपत्र परेको दुई दिन बितिसक्दा पनि स्थानीय सरकारले कुनै चासाे देखाएकाे छैन।
कञ्चनपुरको महाकाली नगरपालिकामा निर्माणाधीन ४ लेनको पुल पारी ४ सयको हाराहारीमा नेपाली अलपत्र परेका छन्। अलपत्र परेका नेपालीमा भारतबाट उपचार गराएर फर्किनेदेखि राजधानी दिल्लीबाट हिडेर आउने नेपाली रहेको स्थानीय दिलबहादुर सिंहले बिएल नेपाली सेवालाई बताए। ‘नेपालीहरूलाई भारततर्फको एसएसपीले पिटेको अवस्था छ। दुई दिनदेखि अलपत्र नेपाली थपिने क्रम बढ्दो छ’, महाकाली नगरपालिका–१ का सिंहले भने।
भारतीय पक्षले महाकाली पुल बन्द गर्दा केही दिनदेखि भारततर्फ थुनिएका नेपालीलाई हाल महाकाली नगरपालिका र सशस्त्र प्रहरीको अगुवाईमा नेपाली सीमा रहेको गड्डाचौकीमा ल्याउने काम भए पनि उनीहरु नेपाल प्रवेश गर्न पाएका छैनन्।
महेन्द्रनगरमा यसअघि नै दुई दिनदेखि ५४ जनालाई नेपाल प्रवेश गर्न दिइएको छैन। यो संख्यामा अहिले थप बृद्धि भएको छ। स्थानीय सरकारले दुई दिनअघि नै सुदूरपश्चिमको दुई प्रमुख शहर धनगढी र महेन्द्रनगर ‘लक–डाउन’ गर्ने घोषणा गरे पनि बिना कुनै तयारी गरिएको घोषणाले थप समस्या निम्त्याएको हाे।
स्थानीय सरकारसँग हालसम्म ‘आइसोलेसन’ को कुनै तयारी छैन। सबै रनभूल्लमा देखिन्छन्। स्वास्थ्यकर्मी, सेना तथा सशस्त्र प्रहरीसँग ज्वरो नाप्ने मेशिनबाहेक तयारीका अन्य कुनै सुविधा छैनन्।
खुला नाका प्रयोग गर्दै भारतबाट दोधाराचाँदनी भित्रिएका करिब ५ सय जनालाई सशस्त्र र जनपद प्रहरीको टोलीले टिपर, ट्रक र ट्रयाक्टर प्रयोग गरि गड्डाचौकी पठाएको थियाे। सीमा सुरक्षा बल ३५ गण माझगाउँका डिएसपी लोकेन्द्र भट्टले चोरीबाटो आउने माथि कडा निगरानी राखिएको बताएका छन्। उनले सरकारलाई छलेर आउने व्यक्तिमाथि कडा कार्यवाही गरिने जानकारी पनि दिएका छन्।
अस्थायी राजधानी धनगढीमा मुख्यमन्त्री त्रिलोचन भट्टको निवास छ। तर, उनको निवासबाट ३ किमी दुरीमा ५ सय नेपाली दुई दिनदेखि विचल्लीमा छन्। उनीहरू आफ्नो जन्मभूमि प्रवेश गर्न पाउनुपर्छ भनेर जबरजस्ती गरिरहेका छन्, जसलाई सशस्त्र प्रहरीले अहिलेसम्म रोकेको अवस्था छ।
धनगढीमा पनि यति धेरै मानिसलाई एकै पल्ट ‘आइसोलेसन’ मा राख्ने कुनै व्यवस्था छैन। स्थानीय समाजसेवी हिरा भण्डारीले आफूले सञ्चालनमा ल्याएको तालिम केन्द्रलाई ‘आइसोलेसन वार्ड’ को रूपमा प्रयोग गर्न दिने घोषणा गरेकी थिइन। तर, सरकारको वार्ड बनाउने कुनै तयारी देखिएको छैन।
स्थानीय अर्का समाजसेवी यादव जोशीले गौरीफन्टा सीमा चौकीका बिचल्ली परेका नेपालीलाई खाना ख्वाउने काम गरिरहेका छन्।
अहिले अस्थायी राजधानीमा यी मानिसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा मुख्यमन्त्री भट्टको अगुवाईमा उपमहानगरपालिकाका मेयर नृप ओड, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालगायत सुरक्षाकर्मीको बैठक बसिरहेको छ।
तर, धनगढीको अवस्था पनि कञ्चनपुरभन्दा फरक छैन।
सुदूरपश्चिमवासी पहिलेदेखि नै रोजगारीका लागि भारत जाने प्रचलन छ। प्रदेश सरकार गठन भएयता यहाँको स्थानीय सरकारले विकाश बजेटको २० प्रतिशत मात्र खर्च गरेको अवस्था छ। ८ महिनादेखि थन्काएर राखेकाे डेढ अर्बकाे बजेट विश्वब्यापि रुपमा फैलिरहेकाे काेराेना भाइरसकाे महामारीका बीच पार्टी सम्बद्ध व्यक्तिलाई बाँडफाड गरेको भन्दै यति बेला सरकारको आलोचना भइरहेको छ।
सुदूरपश्चिका मुख्यमन्त्री भट्टले सपथ ग्रहण गर्ने वित्तिकै पहिलो घोषणा नै भारतमा चौकीदारी गर्न जाने अवस्थाको अन्त्य गर्ने बताएका थिए। तर, उनको कार्यकाल ३ वर्ष बितिसक्दा उनले घोषणा गरेको ‘छेउ न टुप्पो’ केही भएको महसुस यहाँका स्थानीयले गर्न पाएका छैनन्। सपथ ग्रहणमा आफूलाई सुदूरपश्चिमको चौकीदार घोषणा गरेका भट्टको अहिलेको रवैया देखेर भारतमा चौकीदारी गर्ने स्थानीयवासी नै चकित परेका छन्। कोरोना जस्तो महामारी विश्वब्यापि रूपमा फैलिँदा आफ्नै सीमामा रोकिनु परेको पीडाका बीच उनीहरू यति बेला भनिरहेका छन्, ‘चौकीदारलाई चौकीदारले नै रोक्यो।’