जुम्ला र मुगु आउने यात्रु राकम कर्णालीमा अलपत्र

नेपालगन्जबाट जुम्ला र मुगु आउदै गरेका दुई दर्जनबढी गाडीमा रहेका यात्रुहरु दैलेखको राकम कर्णालीमा अलपत्र परेका छन्। सोमबार दिउसो १२ बजे एउटा गाडि फसेपछि त्यस भन्दा पछाडि गाडीमा फसेका यात्रुहरु अलपत्र परेका हुन्। 

कोरोनाको त्रास फैलिरहेको बेला सुरक्षित घर फर्किन भन्दै आइतबार र सोमबार नेपालगन्ज र सुर्खेतबाट जुम्लाका लागि छुटेका सबै गाडिहरु राकम कर्णालीमै अलपत्र परेको यात्रु अर्जुनसिंह कठायतले बताए। 

‘खोलामा अगाडि एउटा गाडि फसेको छ त्यसलाई निकाल्नु पर्‍यो भन्दा सरोकारवाला कसैले पनि चासो देखाएनन्,’ उनले भने, ‘हामीले सम्बन्धित सबै निकायलाई गुहार गर्‍यौ तर कसैले पनि नुसने पछि यात्रुहरु आफैले पैसा उठाएर डोजर लगाएर खोलामा फसेको गाडि किनारा लगाएका छौँ।’

खोलाको गाडि किनारा लगाएपनि मंगलवार बिहान ६ बजेदेखि देशनै लकडाउन गरिएपछि उनीहरु अलपत्र परेका हुन्। जुम्ला र मुगु आउने यात्रुहरु धेरै रहेको बताइएको छ। सरकारले छिटो भन्दा छिटोबीच बाटोमै सोमबारदेखि अलपत्र परेका यात्रुहरुलाई सुरक्षित गन्तव्य स्थलसम्म पुर्‍याउनु पर्ने यात्रुहरुले बताएका छन्। यात्रुवाहक गाडि र मालबाहक गाडिहरु जाममा परेका छन्। 

राकम कर्णालीमा अलपत्र परेका यात्रुहरुलाई गन्तव्यसम्म पुर्‍याउनको लागि सडक डिभिजन कार्यालय सँग समन्वय भैरहेको जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। 

‘अहिले जिल्लामा निषेधाज्ञा गरिएका बेला कसरी अलपत्र परेका यात्रुहरुलाई गन्तव्य स्थल सम्म पुर्‍याउने भन्ने कालिकोट र दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारीले समन्वय गर्नु पर्ने देखिन्छ,’ उनले भनिन्, ‘यात्रुहरुलाई नआतिन भनेका छौँ।’

प्रकाशित मिति: : 2020-03-24 21:46:50

प्रतिकृया दिनुहोस्