प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेकाे घोषण मिच्दै एयर इन्डिया र थाइ एयरवेजले ५५ नेपालीलाई विभिन्न मुलुकबाट नेपाल ल्याएका छन्। कोरोना भाइरसको प्रकोप भित्रिन नदिन सरकारले लगाएको अस्थायी प्रतिबन्ध उल्लंघन गर्दै ती एयरलाइन्सले जापान, मलेसियालगायत मुलुकमा रहेका नेपालीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गराएका हुन्।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार एयर एन्डियाबाट आएका १२ र थाइ एयरवेजबाट आएका ३८ जना सम्पर्कमा आएका हुन्। विमानस्थल ओर्लिएका सबै नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको छ। आफूखुसी नेपाल आएका उनीहरु १४ दिन क्वारेन्टाइनमा बस्ने र त्यस अवधिसम्म उनीहरुले नै खर्च व्यहोर्नुपर्ने बताए।
सरकारी निर्णय अवज्ञा गर्ने एयरलाइन्सलाई सचेत गराउने र अटेर गरे नियम अनुसार कारबाही उनले गरिने बताए। ‘नेपालको स्वीकृति बेगर विदेशबाट मानिस ओसारेको विषयमा नागरिक उड्ययन प्राधिकरणका पदाधिकारीलाई मौखिक स्पष्टीकरण माग गरिएको छ,’ उनले भने, ‘अरु मानिस पनि आउने क्रममा रहेको भए आकाशबाटै उतै फिर्ता पठाउने व्यवस्था गर्न पनि निर्देशन दिएका छौं।’
अटेर गरेर अवतरण गरिए विमानस्थलबाटै जुन देशबाट आएको हो, सोही मुलुकतर्फ विमान फिर्ता गरिने पौडेलले बताए।