बिहानीको उदाउँदो सूर्य लाली जस्तै
म मुस्काईरहेको हुन्छु
साँझको उदाउँदो जुनेली जस्तै
म मुस्काईरहेको हुन्छु।
जिन्दगीका रफ्तारहरू
हुरी जस्तै भौंतारिए पनि
बाध्यता र समस्याहरू
मौरी गोला झैं खनिए पनि
हरदम बहने शीतल समीर झैं
म हरपल मुस्काईरहेको हुन्छु।
मेरा जीवन संघर्षहरू
उजाड़ बगर बने पनि
पसिनाले सिञ्चित यो माटोमा
सयपत्री फक्रिए झैं
म मुस्काईरहेको हुन्छु।
गरिबीका आहटहरू
ठूला शहरले पsssर सारे ता पनि
सपनाका महल बनाउँदै
आकाश छोईरहने
कञ्चनजंघा जस्तै
म मुस्काईरहेको हुन्छु।
हेर्न आउने रहर भए
आऊ मेरा पाखा र पहराहरुमा
नलुकाई मेरा सौंन्दर्यका रहस्यहरू
लालिगुराँस र सुनाखरी जस्तै
म मुस्काईरहेको हुन्छु।
बर्खाका भलहरूले
बगाई लगेका मेरा रहर र आकांक्षाहरू
उराठिलो मरूभूमी बने पनि
म मेरा स्वाभिमान जोगाउन
मरूभूमी कै क्याक्टस सरह
मुस्काईरहेको हुन्छु।
अभिमान होइन मेरो मुस्कान
समयको चक्रव्यूहमा
जीउने मेरो साहस
यसैले नबनी हतोत्साहित
हरदम हर प्रहर हर सुस्केरासँगै
म मेरा बचाइका हर क्षणहरूमा
मुस्काईरहेको हुन्छु।