पश्चिम नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित भेटिएका छन् । पारिपट्टि संक्रमण देखिएपछि नेपालतर्फ त्रास बढेको छ । तर, जोखिमलाई नजरअन्दाज गर्दै दुई देशका नाका अझै खुला राखिएका छन्, जहाँबाट दैनिक हजारौँ मानिस निष्फिक्री ओहोरदोहोर गरिरहेका छन् ।
गड्डाचौकी नाका : दैनिक पाँच हजार मान्छे हुल बाँधेर भारतबाट भित्रिँदै छन् । नाकामा ११ स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्क छ । तर, ज्वरो नाप्न दुईवटा मात्रै इन्फारेड थर्मोमिटर छन् । आशंका गरिएका व्यक्तिलाई महाकाली अञ्चल अस्पतालमा रेफर गरिन्छ । तर, त्यहाँ क्वारेन्टाइन र आइसोलेसन वार्ड छैन ।
कञ्चनपुरको गड्डाचौकीदेखि झापाको काँकडभिट्टासम्मका नाकाबाट दुई देशका नागरिक जोखिम मोल्दै हुल बाँधेर आउजाउ गरिरहेका छन् । २५ जनाभन्दा बढी भिड नलाग्न आह्वान गरेको सरकारले त्यसको व्यवस्थापनमा ध्यान दिएको छैन । ठेलमठेल लाइनमा उभ्याएर सीमित साधनस्रोतले उनीहरूको चेकजाँच भइरहेको छ । स्वास्थ्य परीक्षणका नाममा भारतबाट आउनेहरूको सामान्य ज्वरो नापेर नेपाल छिर्न दिइएको छ । कतिपय नाकामा त ज्वरो नाप्ने थर्मोमिटर र स्वास्थ्यकर्मी समेत पर्याप्त छैनन् ।
दिल्लीसँग सबैभन्दा छोटो दूरीको गड्डाचौकी नाकाबाट दैनिक पाँच हजार व्यक्ति भित्रिँदै छन् । यहाँ ११ स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्क छ । तर, ज्वरो नाप्न दुईवटा मात्रै इन्फारेड थर्मोमिटर छन् । संक्रमणको आशंका भएका व्यक्तिलाई महाकाली अञ्चल अस्पतालमा रेफर गरिन्छ । तर, त्यहाँ क्वारेन्टाइन र आइसोलेसन वार्ड छैन । ‘दुईवटा डिजिटल थर्मोमिटरले ज्वरो जाँच गर्दै आएका छौँ । सामान्य ज्वरो देखिएकाहरूलाई उपचारपछि पुनः जाँचेर पठाउँछौँ, १०४ डिग्रीभन्दा माथि ज्वरो देखिए महाकाली अस्पतालमा रेफर गर्छौँ,’ हेल्थ डेस्क इन्चार्ज निर्मला जोशीले भनिन् । बिहान ५ बजेदेखि राति ९ बजेसम्म तीन सिफ्ट गरेर नाकामा ज्वरो नाप्ने गरिएको उनले बताइन् ।
गड्डाचौकी नाकाबाट फर्किनेहरू मजदुरीका लागि भारतमा रहेका नेपालीदेखि भारतीयसम्म छन् । भारतमा होटेल, उद्योगलगायत रोजगारीका क्षेत्र बन्द भएपछि घर फर्किने नेपालीको संख्या बढेको हो । महेन्द्रनगरबाट गड्डाचौकी नाका हुँदै दिल्ली, देहरादुन चल्ने नेपाल–भारत मैत्रीबस सेवा भने ३ चैतदेखि बन्द गरिएको छ ।