चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वभरिका मानिसलाई प्रभावित गरेको छ।
जताततै कोरोनाले हाहाकार मच्चाएको छ। यतिबेला ब्रह्मण्ड नै त्रासै–त्रासमा बाचेको छ। विज्ञानलाई चुनौती दिएर संसारमा फैलिएको कोरोनाबाट बच्न वैज्ञानिकहरू दिनरात नभनी उपचारमा लागिरहेका छन्।
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ नाम दिएको यो महामारीबाट १० हजार ४ सय ५ भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।
कोरोनाबाट लाखौँ मानिसहरू मानसिक वा शारीरिक रूपमा बिरामी परेका छन्। मानवीय क्षतिसँगै विश्वको अर्थतन्त्रसमेत ओरालो लागेको छ। काम गरेर खाने वर्ग भोकभोकै मर्ने अवस्थामा छन्।
अन्य मुलुकहरूझैं थाइल्याण्ड पनि कोभिड–१९ को चपेटामा परेको छ। यहाँ बसोबास गर्ने करिब ८० हजार नेपालीभाषीहरू कोरोना भाइरसको महामारीको मारमा परेका छौं।
अहिलेसम्म थाइल्याण्डमा कोरोना भाइरस सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ३२२ पुगेको छ। संक्रमणको संख्या बढेपछि बुधबारदेखि थाई सरकारले देशभरका विद्यालय, विश्वविद्यालय र मनोरन्जन स्थलहरू, मार्केटहरु बन्द गर्ने निर्णय गरेको छ।
यसको सबैभन्दा धेरै असर दोस्रो देशबाट काम गर्न आएका म्यान्मारका नेपालीभाषी र नेपालबाट आएकामा अलिक धेरै नै परेको छ।
निकै ब्यस्त शहर बैंकक यतिबेला सुनसान छ। सडकमा गाडी शून्य प्राय छ। मार्केटमा सटर लागेका छन्। कतै पनि मानिसको चहल–पहल छैन। घरबाट बाहिर निस्कन मुस्किल छ।
हवाई मार्गबाट देश तथा विदेश जान प्रतिबन्द गरिएको छ। कतिपय नेपालीभाषीहरू हल्ला चल्नेबित्तिकै घर फर्किए भने हामीहरू म्यान्मार फर्किने तयारी गर्दैछौं। काम गरिरहेका साहुले तलब नदिएपछि खाली हात जन्मभूमि फर्किनुको पीडा बेग्लै छ।
पार्कमा पनि २५ जनाभन्दा बढी एक ठाउँमा भेला हुन पाउने अवस्था छैन। साथी–भाइहरू जम्मा भएर कुराकानी गर्ने समय नै बनेको छैन। परदेशमा बसेर काम गर्ने हामीहरुका दुःख कति छन् – कति।
यति हुँदाहुँदै पनि पहिलो कुरा त जीवन नै हो। हाम्रो शरीर अर्थात् जीवन बाँच्यो भने, धन, सम्पत्ति बाँकी कुराहरु त कमाउन सकिएला नि ! हामीले यस्तै–यस्तै सोचेर मन बुझाएका छौं।
दैनिक स्वास्थ्यको राम्रो ख्याल गर्ने गरेका छौं भने बाहिर जाँदा वा नचिनेको मानिस भेटिँदा मास्क प्रयोग गर्ने गरेका छौं। हाम्रो संस्कार हात मिलाउने होइन, नमस्कार गर्ने हो तर अहिले भेट्दा पनि नमस्कार नै गर्ने गरेका छौं।
आजकाल मानिसले नै मानिसका दुःख, पीडा, वेदना देख्न भुलेको यो संसारमा फेरि निष्ठुरी कोरोना एक पटक मानिस बन्न त सिकायो। तर, जीवन रूवाउनेसम्म बनायो। हाम्रो सुन्दर प्रकृतिमा नकारात्मक प्रभाव बढेका कारण पनि जलवायु परिवर्तनको असरले पक्कै पनि यस्ता विपतहरुको सामना गर्नुपरेको हो।
प्रकृति दूषित हुँदाको परिणाम कोरोनाजस्ता महामारी मानव जातिले खेप्नुपरेको हो।
पछिल्लो समय नेपाली मूलको समुदाय पश्चिमा शैलीमा ढल्किरहेको बेला – कोरोनाले विश्वब्यापी रुपमा नेपाली संस्कृति नमस्कार फैलावट गरेको छ। यसबाट पनि थप के पुष्टि हुन्छ भने नेपाली धर्म, संस्कृति वैज्ञानिक समेत रहेछ।
म्यान्मारमा बसोबास गर्ने हामी नेपालीभाषीहरू वर्षौदेखि – पुर्खाले आफूसँगै ल्याएको हिन्दु धर्म र नेपाली भाषा, कला, साहित्य र संस्कृतिका पुजारी नै बनेका छौं। फेरि एक पटक कोरोनाले हाम्रो पृष्ठभूमिमा फर्काएको छ।
दुःखै–दुःखका बीचमा पनि हामीहरू थाइल्याण्डमा सुरक्षित बस्ने उपाय खोजिरहेका छौं। यस्तो समयमा आफू जहाँ, कता भए पनि मानवीय हिसाबले एकले अर्कालाई सहयोग गर्ने वातावरण अवस्था श्रृजित गरौं। र हामी सबैको पशुपतिनाथले रक्षा गरून्।
दुलाल – टमूनगर म्यान्मार निवासी हुन्। उनी अहिले थाइल्याण्डमा बसोबास गर्छिन्।