प्रधानमन्त्रीले आज साँझ देशबासीको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ देशबासीका नाउँमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे सम्बोधन गर्न लागेका हुन्।

नोभल कोरोना भाइरसबाट देशबासीलाई सुरक्षित राख्न सरकारी प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्रीले सिंहदरबारबाट अपरान्ह ५ बजे देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले जानकारी दियो।

भीड हुने भएकाले अन्य पत्रकारहरुको उपस्थितिलाई पनि अनुमति नदिइने भएको र सरकारी सञ्चारमाध्यममार्फत प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहाकार राजन भट्टराईले बिएल नेपाली सेवालाई जानकारी दिए।

फागुनमा मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्रीलाई संक्रमणबाट जोगाउन सम्बोधनका क्रममा अन्य पत्रकारलाई प्रवेश नदिइने भएको हो।

यसअघि नै सरकारले २५ जना भन्दा धेरै एकै ठाउँमा जम्मा हुन नदिने नियम लगाइसकेको छ।

यसैबीच कोरोना संक्रमण नेपालमा भित्रिन नदिन सबै उपाय लगाइरहेको सरकारले थप जोखिम नमोल्ने नीति लिएको छ। मुलुकलाई थप सुरक्षित गर्ने निर्णय लिने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलले आजै साँझ उच्चस्तरीय बैठकसमेत बोलाएका छन् ।

नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले  शुक्रबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर हालसम्मको अवस्थाबारे जानकारी गराएका थिए।

प्रकाशित मिति: : 2020-03-21 02:58:00

प्रतिकृया दिनुहोस्