अहिले सहकारीका विषयमा पक्ष विपक्षमा बहस र तर्कभइरहेका छन्। एकथरी तर्क सहकारीजस्तो सामाजिक व्यवसाय, सशक्तीकरणको माध्यम, जनस्तरको संगठन अरु कुनै हुँदैन। आफूहरूले आफूहरूका लागि गर्ने व्यवसाय भएकाले यसको आदर्श अन्य व्यवसायमा पाइँदैन। स्वयम् व्यवस्थापन, स्वयम् नियन्त्रण र स्वयम् अनुशासनको अभियान भएकाले पनि यसमा रहने आदर्श सरकारी, गैरसरकारी, निजी तथा कर्पोरेट व्यवसायमा देखिँदैन। अर्कोथरी तर्क छ, आदर्श अपेक्षा हो, वास्तविकतामा सहकारी साझा बन्धन, साझा हित र सदस्य केन्द्रीयतामा नरही सीमित व्यक्तिको चाख र स्वार्थका लागि सामूहिक पुँजी र सिप परिचालन एवम् उपयोग भयो। व्यापारभन्दा पनि महाव्यापार र बैंकभन्दा पनि माथिको वित्तीय कारोवारले विशुद्ध नाफा व्यवसाय भयो। कतिपय सहकारीको व्यवहारले सहकारीहरू सहकारी आदर्शबाट विषयान्तर बन्दै गएको व्यवसायमा भएको पुष्टि पनि भएको छ।
कतिपय सहकारीको व्यवहारले सहकारी, सहकार्य र आमसदस्यको हित नगरी नाफा, बोनस, जग्गा कारोबार, रियलस्टेट, चर्को ब्याजर कारोबारको अपारदर्शिताको व्यवसाय बनेकाले दोस्रो तर्कलाई समर्थन गरिरहेको छ। समाजमा आखाको नानी बनेका सहकारी किन आँखाका कसिंगर, अझ आँखाको आँसु बन्न पुग्दैछन् र तिनलाई कसरी वास्तविक सहकारी बनाउने भन्ने सन्दर्भमा यो छोटो विश्लेषण केन्द्रित छ।