विश्व अहिले कोरोना भाइरस (कोभिड १९) बाट आक्रान्त छ। चीनको वुहानबाट गत डिसेम्बरदेखि फैलिएको कोरोनाले विश्वव्यापी रुप लिएपछि विश्व स्वास्थ्य संगठनले यो प्रकोपलाई विश्वव्यापी महामारी घोषणा गरेको छ।
संसार कोरोनाबाट त्रसित भइरहँदा म भने पूर्व निर्धारित कार्यक्रमअन्तर्गत मार्च ८ मा फ्रान्स भ्रमणमा निस्किएँ। भ्रमणमा निस्किँदा कोरोनाको प्रकोप चीनमा धेरै थियो। युरोपतिर पनि फैलने क्रममा थियो। फ्रान्ससँग सीमा जोडिएको इटालीमा प्रभाव देखिन थालेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर प्रस्थान गर्दै गर्दा हल्लाहरु धेरै सुनेको थिएँ। धेरैले नजान सुझाव दिए पनि। तर, हल्लाबीच मैले इन्टरनेटमार्फत् सम्पूर्ण अध्ययन गर्दा कुनै कार्यक्रम स्थगित नभएकाले फ्रान्स उडेँ।
८ मार्चको मध्यरात उडेको मेरो विमानको ट्रान्जिट कतारको दोहामा थियो। ४ घण्टाको ट्रान्जिट। त्यहाँ उत्रिँदा कुनै परीक्षण थिएन। नेपालमा उड्दा जाँच हुने, दोहाबाट फर्काउने, क्वारेन्टाइनमा बस्नुपर्ने जस्ता हल्ला सुनेको मैले त्यहाँ पुग्दा यी कुनै कुरा व्यहोर्नु परेन। अवस्था सामान्य थियो अरुबेला जस्तै। दोहाबाट करिब ७ घण्टाको यात्रापछि पेरिसको चार्लेस डे गाउली विमानस्थलमा अवतरण गरेँ। विमानस्थलमा अवस्था सामान्य थियो। नेपालमा हल्ला चलेजस्तो फिर्ता गर्ने, क्वारेन्टाइनमा राख्ने त थिएन नै, सामान्य परीक्षण पनि गरिएन। म ट्रेनबाट आफ्नो गन्तव्यमा लागेँ।
पेरिस डे नर्ड गाउड भन्ने ठाउँमा पुगेँ। त्यहाँ कोरोनाको कुनै त्रास र हल्ला थिएन। पहिलेजस्तै चहलपहल र सामान्य जीवन यापन थियो। पर्वतका लोकबहादुर पुनले सञ्चालन गरेको नेपाली रेष्टुरेन्टमा खाना खान जाँदा कोरोनाबारे बुझ्ने प्रयास गरेँ। पुनले इटालीसँग सीमा जोडिएको क्षेत्रमा सामान्य प्रभाव रहेको, अन्यत्र सामान्य रहेको जानकारी दिए। भोलिपल्ट पुन: जाँदा नेपाली रेस्टुरेन्टमा खाना खान आएका फ्रान्सेली सेनामा कार्यरत दुई नेपाली भेटिए। भेटमा उनीहरुले सीमा क्षेत्रमा सामान्य प्रभाव रहेको र अन्यत्र कुनै प्रभाव नभएको बताएपछि म ढुक्क भएँ। उनीहरुको कुरा सुनेपछि ५/७ दिनमा स्वदेश फर्किहाल्छु, खासै अप्ठ्यारो नहुने निष्कर्षमा म पुगेँ। अर्को दिन आइफिल टावर गएँ। त्यहाँ पनि खासै प्रभाव थिएन। भोलिपल्ट पिरामिड भन्ने ठाउँमा पुग्दा मानिसहरुको चहलपहल उत्तिकै पाएँ।