कोभिड-१९ महामारी फैलिँदै जाँदा ज्यालादारी श्रमिकलाई जीविकाकै चिन्ता बढेको छ तर, सरकारसँग उनीहरूको जीवन सुरक्षाको कुनै कार्यक्रम छैन।
सप्तरीका फेकन रामले काठमाडौंमा जुत्ता पालिस गर्न थालेको २० वर्ष भयो। जुत्ता पालिस गरेरै उनले आफ्नो र परिवारकै जीवन धानेका छन्।
काठमाडौंमा साथीसँग मिलेर भाडामा बस्ने उनले श्रीमती, छोरा र छोरीलाई सप्तरीमा राखेका छन्।
“कहिलेकाहीँ दिनको ५०० जति कमाइ हुन्छ। कहिले त त्यो पनि हुँदैन। त्यही पैसाले कोठा भाडा तिर्छु, छाक टार्छु। बचेको पैसा घर पठाउँछु”, उनी भन्छन्।
कोभिड-१९को त्रास फैलिएसँगै उनको चिन्ता बढेको छ।
“काठमाडौंमा बस्न नसक्ने भए गाउँ जानुपर्ला, अरु के गर्न सक्छु र ?”, उनी भन्छन्, “काम रोकिने भयो।”
चिन्ता त उर्मिला खत्रीलाई पनि थपिएको छ। ज्यालादारी मजदुर हुन् उनी। १५ वर्ष भयो यो काम गर्न थालेको। उनका मिर्गाैला रोगपीडित श्रीमानको पाँच वर्षअघि निधन भइसकेको छ। दैनिक ६५० रूपैयाँ कमाउने उनले घर–परिवार धान्नुपर्छ।
“यही पैसाले दैनिकी टार्दै आएकी छु”, उनी भन्छिन्, “कोरोना भाइरस आए त आपतै पर्छ। हुनेले पो खान्छन्, नहुनेले के गर्नू!”
उर्मिलासँगै काम गर्ने दीपा ब्राह्मण पनि ५ वर्षदेखि ज्यालादारी मजदुरी गर्छिन्। उनलाई पनि कोभिड–१९ को महामारी फैलिए के गर्ने भन्ने चिन्ता छ।
“काम नै भएन भने घरमै बस्नपर्यो। घरखर्च कसरी चलाउने ?”, उनको चिन्ता छ।