(जीवन सुन्दर छ, भाग-१२)
आगोले जलेपछि उनलाई अस्पतालमै छाडेर श्रीमान भागे। प्रेमविवाह गरेका श्रीमानले दिएको यो चोट चानचुन थिएन। तर, सविनाले हिम्मत हारिनन्। किनभने संघर्ष उनको जीवन जिउने तरिका नै बनिसकेको थियो।
काठमाडौं। १२ वर्ष भएछ त्यो दुस्वप्नजस्तो घटना भएको।
काठमाडौंको बालुवाटार। पुसको महीना थियो। रातको आठ बजिसकेको थियो। खाना बनाउन ढिला भइसकेको थियो। चुल्हो सल्काउन खोजेको ग्यास सकिएको रहेछ।
त्यति राति सिलिण्डर साट्न कहाँ गइरहनु ?
‘खाना नि पकाउँछु, चुरोट नि सल्काउँछु’, यही सोच्दै सविना खाना बनाउन उठिन्। स्टोभ बालेपछि चुरोट सल्काउन हात अगाडि लगिन्। विडम्बना, स्टोभको आगो चुरोटमा मात्र नभई उनको ज्याकेटमा पनि सल्कियो।
ज्याकेट न हो, ह्वार्रै बल्यो। उनी आत्तिइन्। ज्याकेट फाल्न खोजिन् तर, आगोले पोल्न थाल्यो। हतारहतार ढोका त खोलिन्। तर, ज्याकेटमा लागेको आगो उनले निभाउन सकिनन्।
एकैछिनमा उनका श्रीमान् आइपुगे। आगो निभाइदिए। लुगा च्यातिदिए। अनि कपडाले बेरेर उनैले सविनालाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्याए।
आगोले उनका दुई हात र घाँटीसम्म नराम्रोगरी जलेको थियो। उनी बोल्न त सक्थिन्। तर, उठ्न र आफैंले खान सक्दिनथिन्। श्रीमानले दुई महीनासम्म अस्पतालमा उनको स्याहारसुसार गरे। दुई महीनापछि उनलाई एक्लो बनाएर भागे।
सविना विलखबन्दमा परिन्। उनलाई अस्पतालमा स्याहार गर्ने कोही भएनन्। छोराछोरी सानै थिए। छोरी ६ वर्षकी, छोरा चार वर्षका। धन्न आमाजुहरूले साथ दिए। उनीहरूले अस्पतालमा स्याहार गरे। माइतीको भने साथ पाइनन् उनले।
डाक्टरले भनेका थिए- “तिम्रो घाउ चाँडै निको हुन्छ। पीर नगर।”
तर, डाक्टरले भनेजस्तो भएन। बरु घाउ राम्रोसँग निको नहुँदै उनलाई अस्पतालबाट घर लगियो।
घरमा भने उनले खासै स्याहार पाइनन्। उनीसँग कोही नजिक पर्न खोज्दैनथे। बोल्न पनि चाहँदैनथे।
६ वर्षे छोरीले जतिसक्दो स्याहार गरिरहिन्। घाउ सफा उनैले गर्दिन्थिन्।