राष्ट्रियसभा अध्यक्षले सभामुख सापकोटासँग जनाए आपत्ति

सेतोपाटी

काठमाडाै‌ं

मनोज सत्याल

संघीय संसदको 'कार्यवाहक' महासचिव गोपालनाथ योगीलाई तोकिएको विषयमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका छन्।

चैत २ गते सभामुख सापकोटाले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई 'संघीय संसदको महासचिव भई कामकाज गर्न तोकेको' पत्र दिएका थिए। उक्त पत्रमा 'राष्ट्रिय सभा अध्यक्षको परामर्शमा कार्यबाहक तोकिएको' भन्ने उल्लेख थियो।  

आफूसँग परामर्श नगरी, पत्रमा गरेको भनेकामा तिमिल्सिनाले सभामुख सापकोटासँग आपत्ति जनाएका हुन्। योगीलाई कार्यबाहक तोकिएपछि रिसाएका तिमिल्सिनालाई भेट्न सभामुख सापकोटा मंगलबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेका थिए।

'सभामुख सापकोटासँगको भेटमा अध्यक्षज्यूले आफूसँग परामर्श नगरी योगीलाई कार्यबाहक तोकिएकोमा आपत्ति जनाउनुभयो,' अध्यक्ष तिमिल्सिना निकट स्रोतले भन्यो।

स्रोतका अनुसार, अध्यक्ष तिमिल्सिनाले महासचिवको योग्यतामा उल्लेख भएको उमेरको विषय र कानुनी प्रश्न हेर्नमात्रै भनेका थिए।

योगी प्रतिनिधिसभाको सचिव बन्दा पूर्व माओवादीले सिफारिस गरेको थियो।  

संघीय संसदको महासचिव र सचिवको नियुक्ति तथा योग्यता सम्बन्धी कानूनमा महासचिव बन्न ४५ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ।

योगीको उमेर ४५ पुग्न अझै १५ महिना बाँकी छ। पूर्व एमालेको सिफारिसमा राष्ट्रिय सभा सचिव बनेका राजेन्द्र फुयाँल पनि ४५ वर्ष पुगेका छैनन्। उनी अहिले ४१ वर्षका मात्र छन्।

आफ्नो सिफारिसमा नियुक्त सचिवको योग्यतामा उमेर बाधक बनेपछि पूर्व एमाले वृतमा बाहिरबाट महासचिव नियुक्त गर्नुपर्ने मत बलियो रूपमा उठेको छ।

प्रकाशित मिति: : 2020-03-18 10:09:11

प्रतिकृया दिनुहोस्