आइतबार, १५ मार्चका दिन अपरान्हतिर श्रीमतीको फेसबुकबाट हेर्दा नेपालीकै ग्रुपमा एउटा खबर आयो– पोर्चुगलको फारो भन्ने ठाउँमा खेतीका काम गर्ने नेपालीमा कोरोना पोजिटिभ देखियो। यस्ता हल्ला नेपाली समुदायमा सधैं आइरहने भएकाले हामीले पत्याएनौं। पछि पोर्चुगिज र पछि अंग्रेजी भाषाका अनलाइनमा गएर हेरेँ, नेपालीलाई नै संक्रमण भएको सरकारी अधिकारीले नै बताएका रहेछन्। अब भोलिदेखि थप समस्यामा दिन कटाउनु पर्छ भन्ने संकेत पाइयो।
हामी बसेको शहरबाट फारो विमानस्थलमा बत्ती बलेको देखिए पनि सडक मार्गबाट आधा घण्टा दूरीमा पर्छ। तर, फारो नै यहाँको नजिकको अन्तर्राष्ट्रिय एयरपोर्ट हो। अनि फारोसँगको दूरीभन्दा पनि त्यो व्यस्त एयरपोर्ट हुँदै आउने पर्यटकमध्ये करिब ७० प्रतिशत यतै आइपुग्ने भएकाले यो ठाउँ फारोमै आश्रित छ। अति व्यस्त फारो विमानस्थलको चाप घटेपछि हामी बसेको शहर पनि सुनसान जस्तै छ। सानो र झण्डै नेपालको कीर्तिपुर नगरपालिका जस्तै साना पहाड र खोँच भएको यो शहरमा राम्रा समुद्री किनार छन्। मध्यान्ह एक छिन नेपालगञ्ज जस्तो गर्मी अनि अपरान्हदेखि चल्ने चिसो हावाका कारण यहाँको हावापानी पर्यटकका लागि लोभलाग्दो किसिमको छ। इतिहासतिर फर्केर हेर्ने हो भनेचाहिँ करिब दुई शताब्दी अघिदेखि यहाँका स्थानीय माझीले ‘होम स्टे’ सहित पर्यटकलाई स्वागत गर्न थालेका रहेछन्।
यो शहरमा अहिले नयाँ मान्छे देखिन छाडेको दुई साता हुन लागेको छ। आफ्नो देशको उडान बन्द भएका कारण थुनिएका र यात्रामा बढी जोखिम हुने कारणले यतै बसाइ लम्ब्याएका बाहेक अरु पर्यटक भेटिँदैनन्। देशकै अन्य क्षेत्रबाट आएर हामी आप्रवासीजस्तै काम गरेर बस्नेहरु पनि मूल थलो फर्किँदैछन्। दायाँबायाँ निस्कँदा सधैं हाँस्दै हेलो, ओला, आलो भन्दै बोल्ने पर्यटकहरु फाट्टफुट्ट भेटिए पनि तिनको अनुहारको रंग फुंग उँडेको देखिन्छ। हामी दम्पत्ती बिगत एक बर्षदेखि करिब तीन सय टुरिस्ट अपार्टमेन्ट भएको कम्पाउण्डकै एक घरमा बस्छौं। हिउँदमा अलिक कम भए पनि मार्चदेखि नोभेम्बरसम्म यहाँ अपत्यारिलो चहलपहल हुन्छ। मेरो पूर्व साहु रेनातो फरेराले एकपल्ट कुराकानी गर्दा चार लाख जनसंख्या भएको यो शहरमा बार्षिक चालीस लाख पर्यटक आउने तथ्यांक सुनाएको थियो। म राति एक बजे कामबाट फर्कँदा पनि काम गर्ने ठाउँको गल्लीदेखि घरसम्म अघिपछि मान्छेको हुल हुन्थ्यो। यो क्रम गर्मीसँगै बढ्थ्यो र यस बर्षका लागि भर्खर शुरु भएको थियो।