फ्रान्समा सयभन्दा बढीलाई एकै ठाउँमा भेलामा प्रतिबन्ध, चार्ल्सले भ्रमण रोके

एजेन्सी

काठमाडाै‌ं

फ्रान्समा एक सय जनाभन्दा बढी व्यक्तिलाई एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाइएको छ।

बढीमा एक सय जनासम्म मात्रै जम्मा हुन पाइने र त्योभन्दा बढी जम्मा हुन नपाइने व्यवस्था गरिएको शुक्रबार घोषणा गरिएको छ। प्रधानमन्त्री एजेर्ड फिलिपले कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको जानकारी भएको हो।

रोमानियाका प्रधानमन्त्री लुडोभिक अर्वान आफ्नै निवासमा एक्लै छुट्टै बसेका छन्।उनले एक्लै बसेर आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेको पनि शुक्रबार बताएका छन्। रोमानियामा शुक्रबार ७० जनामा कोरोना भाइरसको सङ्क्रमण भएको अधिकारीहरुले पुष्टि गरेका छन्।

बेलायतका युवराज चार्ल्स तीन देशको भ्रमण स्थगित गरेका छन्। कोरोना भाइरसको सङ्क्रमणको खतरा बढेकाले उनले भ्रमण स्थगित गरेको अधिकारीले जनाएका छन्। उनले बोस्निया, साइप्रस र जार्डनको भ्रमण स्थगित गरेका हुन्।

बेलायती महारानी एलिजावेथ द्वितीयकी जेष्ठ पुत्र चार्ल्सले आगामी बुधबारदेखि ती देशको भ्रमण गर्ने तालिका थियो। श्रीमतीसहितको उनको सो भ्रमण आठदिने हुने तय भएको थियो। बेलायतमा कोरोनाका कारण शुक्रबारसम्म १० जनाको मृत्यु भएको छ भने ६००भन्दा बढी सङ्क्रमित भएका छन्।

उता स्पेनमा अहिलेसम्म चार हजार २०९ जना सङ्क्रमित भएका छन्। यसअघि बिहीबारसम्म तीन हजार चार जना मात्रै सङ्क्रमित भएका थिए। बिहीबारसम्म मृत्यु हुनेको सङ्ख्या भने ८४ थियो। युक्रेनमा भने शुक्रबार कोरोनाका कारण पहिलो व्यक्तिको मृत्यु भएको छ।

यता भारतमा भने सङ्क्रमितको सङ्ख्या बढेर ८१ पुगेको छ। सङ्क्रमितमध्ये ६४ जना भारतीय नागरिक र बाँकी विदेशी रहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ।भारतकै विहार प्रदेश सरकारले विद्यालय तथा कलेज बन्दको घोषणा गरेको छ। यही मार्च ३१ तारिखसम्मका लागि शैक्षिक संस्था बन्द गरिएको अधिकारीले जनाएका छन्।
 

प्रकाशित मिति: : 2020-03-14 20:22:18

प्रतिकृया दिनुहोस्