‘कस्तो होला रेडियोमा सुनिने सिंहदरबार?’

  
हरेक मानिसको एउटा सुन्दर सपना हुन्छ। पैसा, पावर र पद् नै किन नहोस्। यिनै तीन उपाधि प्राप्तिको जीवन रुपी म्याराथनमा दौडिरहन्छ उ। फरक रुप, स्वरुप र परिभाषामा। आफू, आफ्ना र आफन्तका लागि। धन, सम्पति र वैभव जति भएपनि त्यो भन्दा बढी होस् भन्ने चाहन्छ। 

केही चिज हुँदा पनि असन्तुष्ट, नहुँदा पनि पूर्ण सन्तुष्ट नहुने मानवीय गुण नै हो। हुन त सन्तोष हर चिजको शत्रु पनि हो। त्यसैले उ सपनाको खोजीमा हरेक दिन दौडिन्छ। फरक यती हो, कोही पैँसाको लागि दौडिन्छन्। कोही भोको पेट पाल्न त कोही परिवारको सुखीको लागि। ठिक यसैगरी नै चलिरहेको छ, हाम्रो जीवन पनि। 

बिना लक्ष्य सपनाको खोजीमा दौडिने संसारमा रहर सायदै होलान्। त्यसैले हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ।

यस्तै एउटा सपनाको खोजको म्याराथनमा दौडिरहेको एक विपनाको बस्ती कोहलपुरको सुकुम्बासी बस्ती शान्तिनगरमा म पुगे। नाम शान्तिनगर भएपनि यहाँ हरेक दिन अशान्ति भइरहेछ।  जहाँ वर्षौ देखि भूमिहिन, सुकुम्बासी गन्धर्व लगायतको बसोबास छ। जसलाई दु:खका नदिले भिजाएको, अभावका पहाडले थिचेको छ। लाग्छ यहीँका बासिन्दाको आँशुले हो, समुद्र बनेको। निला समुद्र झै पिडा बोकेर चैत बैशाखे धुपले पालिदै बसेको छ, शान्तिनगर।

मनमा प्रश्नको ताँती नै लाग्यो। तर बाहिर पोखिएको एउटै प्रश्न हो, एउटै माटो र भूगोलमा बसेको कोही यति धेरै सुखी त कोही यदि धैरे दुःखी किन ? विभेदकारी शासन व्यवस्था र असमान वितरण प्रणालीको चपेटामा परेको सुकुम्बासी बस्तीको यो प्रश्नको उत्तर सायदै शासकबाट मिल्ला। 

मन छियाँछियाँ बनाउने बस्ती वयस्क पुरुषको बालक रुवाईले निस्सासिएको छ। कसले कल्पना गरेको होला र यत्रो दुःखको पहाडले थिचिए पनि टक्क बसेको बस्ती भनेर। जबजब बस्ती नियाल्न भित्रसम्म पुगिन्छ तब सोचेभन्दा आनका तान फरक बनिदिन्छ परिस्थिति। ढुंगावाल मनपनि पग्लिन थाल्छ। नखस्ने आँसु पनि खस्न थाल्छ।

सिंगो बस्तीलाई लाग्छ, यहाँ पनि नागरिक नागरिक बसिरहेका छन् र ? राज्य छ कुनै छैन प्रसाद नामकोले चलाइरहेको मान्ने यो बस्तीसँग भएका केवल चित्कार र असन्तुष्टिको पोको मात्रै छ। यहाँका अनागरिकको परिचय बदल्नलाई राज्यले दिएको एक थान नागरिकता नपाउने सायदै होलान तर अनागरिकबाट नागरिक भएका खोज्न पनि दुरबिन लगाउनुपर्छ। 

अनागरिकले पाएको त्यहि नागरिकता पनि धमिराले छियाछिया बनाइदिएको छ। त्यसैलाई पनि बर्षामा झरि पर्दा ओर्लिएको भेल बगाइदिन्छ। कहिले सरकारले सुकुम्बासी भनेर तर्साउछ, उठाउँछ। सरकार माइकिङ गर्दै भन्छ,‘समयमै आफ्नो बन्दोबस्ती गर्नु, नत्र डोजर लाग्छ।’ बस्तीमा डोजर लाग्दा घरबारबिहीन भइन्छ। तर माइकिङ गरेर मनमा लगाइने डोजरले खाएको एक गाँस पनि पचाउन दिदैन।

देशमा शान्ति छ भनेर के गर्नु? सुकुम्बासी बस्तीमा चल्ने अशान्ति र अभावको श्रृंखलाले कोही भुई मान्छे बाहेक अरु हुन सकिरहेको छैन।   

सेवा सुविधा र पुर्वाधारका दृष्टिले अन्य वडा भन्दा निकै सुगम क्षेत्र हो, वडा नम्बर ११। जहाँ शान्तिनगर पनि पर्छ। कोहलपुरको केन्द्र समेत रहेको यो वडा सुगम मानिन्छ। तीन प्रदेशको प्रवेशद्धारको रुपमा रहेको कोहलपुरको चौराहा र डुडुवा नालाको साक्षी छ। मुख्य बजार न्युरोडबाट हिडेर दुई मिनेमा पुगिन्छ यहाँ। तर सुगम वडामा विकटकताको पराकाष्ठा बनेको छ, शान्तिनगर। बस्तीको अवस्थाले कुनै पनि किसिमको सुगमताको परिभाषा झल्किन्न। अति नै विकट, उपेक्षित र उत्पिडितको दुःख। बरु ‘समृद्ध नगर, सुखी नगरबासी’को नाराले आफैलाई गिज्याइरहेछ। 

गाउँ–गाउँमा सिंहदरबारको नाराले प्रश्न गर्छ, गाउँ–गाउँ सिंहदरबारको अर्थ के हो? असुविधा, अभाव वा बस्तीमा नयाँ मान्छे झुल्किदा सहयोग लालसा हो सिंहदरबार? 

बस्तीको नलेखिएको अर्को कथा हो, सुगम वडामा भूमिहिन, लाजपुर्जा विहिन, सुकुम्बासी। कुल ४१ घरधुरी, थारु, गन्धर्व जनजाती र गैर दलितको बसोबास रहेको छ। वरीपरी बाढीले कटान गरेको क्षेत्र ठाउँ–ठाउँमा साना टाकुरामा लहरै लागेका घरहरु छन्। त्यही टोलमा घरको भित्तामा टाँसिएर कुर्सीमा पारिलो घाम ताप्तै गरेको अवस्थामा भेटिए, २०६५ सालदेखि बसोबास गर्दै आएका पुरुत्षोतम् खड्का।

बर्दियाको साविक धधवार गाविस ७, अहिलेको बारबर्दिया नगरपालिकाका। खड्का सुकुम्बासीको रुपमा बस्न थालेको एक दशक बितिसक्यो। ३ छोरी र श्रीमती सहित उनी शान्तिनगर टोलमा बस्दै आएका छन्। उनको मुख्य पेसा नै ज्याला मजदुरी हो। ‘बजारमा निस्कदा काम पाइयो भने साँझ चुल्हो बल्छ, नपाए त त्यस्तै हो,’  खड्का भन्छन, ‘जमिनको नाममा चार कोठे अस्थायी घर छ। घर खर्च चलाउन ससुरालीले सहयोग गर्छन्। हामी भूमिहिनको त कोही पनि छैन्।’ 

कुराकानी गर्दागर्दै निकैबेर मौन भएका उनी धौधौ मानी बोले, ‘घिटिघिटी श्वास फेरेर बाँच्नु भन्दा, बरु मर्न पनि आनन्द हुन्थ्यो।’ एकछिन् सान्नाटा छायो। निरस भयो माहोल, मानौं हामी आफ्नो प्रिय मान्छेलाई अन्तिम बिदाइ गर्दैछौ। 

नजिकै राखिएको थियो, पानासोनिकको रेडियो। रेडियो नेपालमा दुई बजेको समाचार बजिरहेको थियो, कुराकानी गर्दै गर्दा। ‘हामीलाई के को सिंहदरबार आउनु यही रेडियोको समाचारमा मात्रै सुन्ने गरेका छौं, सिंहदरबारको कथा। खै हाम्रोमा त पुगेको छैन, थाहा छैन कहिले आउने हो,’ नजिकै रहेका टेक परियारले भने, ‘आएको भए फूलमाला पैरिने थियौँ हामी।’ उनले राज्य व्यवस्था माथि नजानिदो पाराले व्यंग्य गरे। उनी तीन दशक यता सुकुम्बासीको परिचय बाकेर बस्दै आएका छन्। उनी आफ्ना लागि केही नभएकोमा चिन्तित थिए। सत्ता सँधै पराई भएकोमा सिंगो बस्तीले पिर मानिरहेको छ। 

सरकार, सरोकारवाला, अधिकार्मी, एनजिओ र आइएनजिओ सबैका लागि शान्तिनगर नजाने गाउँका बाटो हुन। त्यसैले यहाँ सिंहदरबार अझै पुगेका छैनन्। तर दरबारियाले मौसमी पर्व चुनावमा थरिथरिका नारा ल्याएर त्यही बस्तीमा आउँछन्। सबैको एउटै नारा हुन्छ ‘हामी तपाईको घर बनाइदिन्छौ, लाजपूर्जा दिलाइदिन्छौ। रोजगारी दिन्छौ।’

पछिल्लो चुनावको बेला अर्को नारा पनि थपिएको थियो ‘हामी सबैको रहर। खरको छानो मुक्त घर।’ मतलब नगर क्षेत्रमा बस्दै आएका भूमिहिन, सुकुम्बासी र गन्धर्वको लागि पक्की घर बनाइदिने। वाह! क्या वात। तर यही लोकप्रिय नाराले जितेकाहरुले फुटेका आँखाले लाउने नजर पनि लगाएनन्। 

२०७१ मा शान्तिनगरमा बाढी पस्यो। सबै पीडित थिए। राहत भने राजनितिक दलका नेता र बिचौलियाको हात लाग्यो। सरकारी कार्यालय, अधिकारीकर्मी आए, तथ्यांक लिए, नागरिकताको फोटो कपि मागे। तर राहत आएन। 

सरकारले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम भूमिहिन, सुकुम्बासी र गन्धर्वको पहुँचमा पुग्न सकेन। बरु जनप्रतिनिधि र नेताहरु आफ्ना आसेपासेलाई नै पोसे। गन्धर्वहरु चुनावमा गरेका बाचा पूरा गर भनेर नगरपालिका, प्रदेशका मन्त्री र  संघीय सांसद कहाँ गए। तर सोचेजस्तो कहाँ हुन्छ? 

हिजो आमाबुबा भन्दै खुट्टा ढोग्न आउनेको बोली, बचनको ठेगान नभएको बताउँछन् विर्ष गन्धर्व। ‘न शौचालय, न खानेपानी, न बिजुलीको व्यवस्था। हामीलाई सिंहदरबार त उही रेडियोमा बाहेक अन्त कहाँ आउनु र?’ उनले भने, ‘हामीलाई घर नुहँदा पनि, दुःख, हुँदा पनि दुःख। खानपिनको लागि एक  टुंक्रो जमिन छैन। हामीलाई माछा होइन, मात्रा मार्ने सीप चाहिएको हो।’

कोहलपुरमा दिनदिनै गर्मी चडिरहेको छ। प्रचण्ड गर्मी हुने दिन आउँदैछन्। न मन सितल छ, न बास सितल। गन्धर्व सुकुम्बासी बस्ती भनेर चिनिने शान्तिनगर टोल, कोइलामा सेकुवा पोलेझैं पोलिने तयारी सिवाय अरु गर्न सकिरहेको छैन। 

यो पनि हेर्नुहोस्

सारंगीसँगै रेटिएका ‘वीरबहादुर’ (भिडियोसहित)

प्रकाशित मिति: : 2020-03-13 23:10:00

प्रतिकृया दिनुहोस्