१९ वर्षिय प्रविन भण्डारी बिहान साढे ५ बजेदेखि रातको ९ बजेसम्म पशुपति मन्दिर दर्शन गर्न आउने भक्तजनलाई फूल बेच्न व्यस्त छन्।
दुई दाजुका भाइ र दुई बहिनीका दाजु प्रविनको घर जनकपुर हो। पढाइमा खासै रूची नभएका उनले कक्षा १० सम्म जसो तसो पढे।
२०७५ सालमा श्री राष्ट्रिय माध्यमिक देपराबाट एसईई दिए पनि पास हुन सकेनन्। त्यसपछि उनलाई पढ्नै मन लागेन।
मध्ययम वर्गीय परिवारमा जन्मिएका प्रविनलाई खान लाउनको कुनै समस्या थिएन। पिता कुलदीप भण्डारी फूल ब्यापारी हुन् भने माता सुनैना गृहणी हुन्।
बिवाहित जेठा दाजुले पनि बुबाको जस्तै फूल पसल खोलेर बसेका छन्। माइला दाजु रोजगारीका लागि मलेसियामा छन्।
माइला दाजुले उनलाई बेला मौकामा घरखर्चसँगै उनलाई पनि केही खर्च दिने गरेका थिए।
पढाई बिचमै छोडेपछि उनलाई पनि केही काम गर्ने रहर लाग्न थाल्यो। तर के काम गर्ने? जनकपुरमा खासै काम पाइन्नथ्यो। उनलाई काठमाडौं गएर काम गर्ने सोच आयो।
काठमाडौंमा गाउँकै काका शंकर भण्डारी थिए। उनी पनि पेशाले फूल व्यापारी नै हुन्। एक वर्ष अघि पशुपति मन्दिर अगाडि फुल पसल खोलेका शंकरले उनलाई काठमाडौं बोलाए।
काकालेनै बोलाएपछि उनी पनि फुरूक्क हुँदै गत साउन ५ गते काठमाडौं आए। काठमाडौंमा उनी काकासँगै गौरीघाटमा बस्न थाले।
काकाले भोलिपल्टै उनलाई काम गर्ने पसलमा लिएर गए र काम सिकाए।
त्यसपछि उनी दैनिक बिहान साढे पाँच बजेदेखि बेलुका नौं बजेसम्म जयबागेश्वरीनेर रहेको फूल पसल ‘कृष फूलमाला तथा पूजा सामग्री पसल’ मा खट्ने गर्छन्।
उनलाई काकाले यति खटेवापत खाना बस्न दिएर १० हजार महिनाको तलब पनि दिने गरेका छन्।
तर उनलाई आफूले खटे अनुसारको पैसा नपाएको गुनासो छ। ‘खट्नु त बिहानदेखि नै खट्छु। तर, दस हजार मात्रै तलब दिने गरेका छन्,’ उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘भनौ भने पनि अप्ठ्यारो लाग्छ। काकाकै घरमा बसेको छु। त्यहीँ भएर भन्न सकिनँ।’
पशुपतिमा दर्शन गर्न दर्शनार्थीहरू बिहानको समयमा बढी आउने भएकाले पसल बिहानै खोल्नुपर्ने उनको भनाइ छ। ‘फूल र अन्य सामाग्रीको धेरै व्यापार बिहानै हुन्छ’, उनले भने, ’दिउसो पनि बिक्री त हुन्छ। तर बेलुका चाहीँ खासै हुदैँन।’
गिफ्टहरू पनि पाइने उक्त पसलमा फूलहरू बढी बिक्री हुने गरेको उनले बताए। ‘गिफ्टहरू ल्याएको एक वर्ष भइसक्यो रे, तर अझैसम्म बिक्री भएको छैन्’, प्रविनले भने, ‘फूलहरू मात्रै विक्री हुन्छ।’
उनका पसलमा फूलहरू कलकताबाट आउने गर्छ। ‘कलकताबाट दिनहुँ ४-५ टोकरी फूल ल्याउने गर्छौं,’ उनले भने, ‘गुलाब, सयपत्री, गोदावरी र जलभेर जातका फूल ल्याउने गर्छौं।’
पसलमा कलकताबाट मात्रै ल्याएको फूलले नपुग्ने भएपछि कहिलेकाही जावलाखेलबाट पनि फूल ल्याउने उनले बताए।
दिनमा कम्तिमा सातदेखि आठ हजारसम्मको व्यापार हुने गरेको उनले बताए। ‘दिनमा व्यापार नभएको पनि तीन हजारसम्मको हुन्छ,’ उनले भने, फूलमा सायदै नोक्सान हुन्छ।’
उनलाई अन्य जातिभन्दा भण्डारीले बेचेको फूलको व्यापार राम्रै हुने लाग्छ। ‘हाम्रो थरनै बिना मिसावट शुद्ध फूलहरू बेच्ने गर्छ भन्ने भनाई छ। फेरि यस्तो व्यापारले हामीलाई फापेको पनि छ नि।’
अरूले बेच्ने फूलमा मिसावट हुने भन्दै उनले फूलको व्यापार गर्दा आफूलाईसमेत खुसी लागेको उनले बताए।
‘अन्य व्यापार भन्दा फूलको व्यापार राम्रो हुन्छ’, उनले भने, ‘फूलमध्ये मनपर्ने गुलाव हो।’
अन्य फूलको तुलनामा गुलाव छिट्टै नओइलाउने भएकाले उनलाई पनि गुलाब मनपर्छ।
फूल बेच्नका लागि पसलमा बसिरहेका प्रविनलाई अब घर जाने हतार छ। ‘पहिलादेखि नै माता पिताले त काठमाडौं नजा भन्दै हुनुन्थ्यो’, उनले भने, ‘तर मैले उहाँहरूको कुरै सुनिनँ। अहिले आएर पछुतो लाग्दैछ।’
राजधानी आउनु जीवनको सबै भन्दा ठूलो गल्ति भएको भन्दै उनले अब आफू धेरै समय काठमाडौं नबस्ने बताए। ‘काठमाडौंमा बस्न पुगिसक्यो, अब मेरै आफ्नो गाउँ फर्कन्छु,’ प्रविनले भने, ‘गाउँ फर्किएर एउटा आफ्नो छुट्टै फूल पसल खोल्ने धोको छ। र २५ वर्ष पुगेपछि विवाह गर्ने।’
उनलाई बिहे पनि आफ्नै जातको केटीसँग गर्ने विचार छ। ‘विवाह गर्छु त केवल आफ्नै जातिको केटीसँग’, उनले भने, ‘अर्कै थरको केटीसँग विवाह गर्यो भने घरपरिवारले अपनाउदैनन्। त्यो भन्दा त आफ्नै जातको केटीसँग विवाह गरेको वेश नि।’