चलचित्र ‘हजार जुनीसम्म’ फेरि रिलिज हुँदै

गत साउनमा नेपालमा प्रदर्शनमा आएको चलचित्र ‘हजार जुनीसम्म‘ फेरि रिलिज हुने भएको छ। विकासराज आचार्य निर्देशित लभस्टोरी चलचित्र ‘हजार जुनीसम्म‘ आउँदो मार्च १३ बाट सिलीगुरीको इनोक्स सिटी सेन्टर , इनोक्स भेजा मल , कार्निभलमा प्रदर्शन हुने भएको हो। 

यसैगरी दार्जि्लिङ्गको इनोक्स रिङ्क मल , कुर्सियोङ्गको फान्टासिया , कालिम्पुङको ड्रिम थियटर , सिक्किमको पनि ड्रिम थियटर , गान्तोकको डेन्जोङ्ग हल र नाम्चीको इपेरियल टाकिजमा लगायतका हलमा चलचित्र प्रदर्शन हुँदैछ। चलचित्रमा आर्यन सिग्देल र अखिलेष प्रधान, अरुण रेग्मी रहेका छन्। 

‘चलचित्र फ्यामिली ड्रामासंगै प्रेम कथामा आधारित छ। मायाको पर्खाइ र समपर्ण रहेको चलचित्रले मन छुनेमा आशावादी छु‘ आर्यनले भने। अरुणले नेपाली चलचित्रको बजार रहेकाले नेपाली चलचित्रले माया पाउनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए। ‘हामीलाई केहि समय लाग्यो किनकी केहि प्रावधान थिए तर अब हामी नेपाली चलचित्र रेगुलर यहाँ लगाउने सोचमा छौं। मेरो मात्र नभई राम्रा नेपाली चलचित्रलाई यो बजारमा ल्याउने छु‘ अरुणले भने। उनले अन्य बाँकी स्टेसनमा पनि चलचित्र छिटै रिलिज गरिने बताए।

चलचित्रको छायांकन सिक्किम र दार्जि्लिङ्गको रमणीय दृश्यमा गरिएको थियो भने एमजी रोडमा छायांकन गरिएको गीत ‘एमजी रोडैमा‘ त्यहाँ लोकप्रिय भईसकेको छ। चलचित्रमा स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौडेललगायतका कलाकारहरु पनि अभिनय छ। पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन्। कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा विशाल चाम्लिङ छन्।

प्रकाशित मिति: : 2020-03-12 09:29:21

प्रतिकृया दिनुहोस्