नारीवाद र महिलाको अवस्थाको कुरा गर्नेबित्तिकै हामीमध्ये धेरैले सम्झिहाल्ने नाम हो- सिमोन दि वुभा। फ्रेन्च नारीवादी र अस्तित्ववादी यिनले आफ्नो विख्यात पुस्तक ‘द सेकेण्ड सेक्स’मा लेखेकी छन्, ‘महिलाहरु जन्मिँदैनन्, हुर्काइन्छन्।’
समयक्रमानुसार समाजलाई नियाल्ने हो भने नेपाली समाजमा महिलाहरु कसरी हुर्किरहेका छन् त? महिलाका लागि समाजले एउटा छुट्टै परिधि तोकिदिएको छ। महिलाले यसो-यसो मात्र गर्न पाउने, गर्न हुने र यसो-यसो चाहिँ गर्न नहुने र नपाउने। ती परिधि कसले खडा गरिदिए त भन्दा पुरुषहरुले।
महिलाले आफ्नो अस्तित्व खोज्दै जाँदा, भेट्टाउँदै जाँदा, पुरुषद्वारा निर्मित संस्कारका पर्खालहरु भत्किने भए, भत्किँदै छन्, भत्किन्छन् पनि। त्यसैले ती परिधिहरु छिचोलेर खुल्ला संसारमा विचरण गर्दा सीमाहरु भत्काइएकोमा सबैभन्दा पहिले पुरुष नै आक्रोशित हुने भए/भएका देखिन्छन्। झट्ट हेर्दा नारीवादी आन्दोलनको रोष पुरुषविरुद्ध देखिए पनि यसको तात्विक सत्य भने विशुद्ध स्वअस्तित्वको खोज हो भन्ने मलाई लाग्छ।
यहाँनेर महिलाप्रति पुरुषको बुझाइ कस्तो वा पुरुषप्रति महिलाको बुझाइ कस्तो छ भन्नु भन्दा पनि महिला वा पुरुष वर्गप्रति हाम्रो समाजको धारणा कस्तो छ भन्ने कुरोले महत्ता राख्छ। आखिर हामी यही समाजका उपज नै त हौँ।
मैले जीवनमा नजिकबाट नियालेका घरहरुमध्ये मेरो जन्मघर र मामाघर हुन्। यी दुई घरमा मैले चार पुस्ताका मानिसहरुसँग घुलमिल हुन पाएको छु। दुवै घरका हजुरबाहरुको धमिलो सम्झना मात्र भएकोले मैले त्यो पुस्ताको पुरुषहरु महिलालाइ कसरी हेर्थे भनेर प्रत्यक्ष अवलोकन गर्ने अवसर नपाए पनि हजुरआमाहरुसँगको कुराकानीबाट भने पुरुषहरु (हजुरआमाका श्रीमान, देवर, जेठाजु, दाजुभाइ, पिता, ससुरा आदि) ले महिलालाई कसरी कठपुतली बनाउँथे भन्ने अनुमान र कल्पना गर्न सक्छु।