कोरोना भाइरस अर्थात कोभिड–१९ को आशंकामा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एमबाप्पेको स्वास्थ्य परिक्षण गरिएको छ। कोरोनाको आशंकामा फुटबलरमाथि गरिएको यो नै पहिलो स्वास्थ्य परिक्षण हो।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बोरुसिया डर्टमण्डसँगको खेलअघि एमबाप्पेको स्वास्थ्य परिक्षण गरिएको हो। तर, उनको कोरोना भाईरस नेगेटिभ देखिएको बताईएको छ।
उनी पीएसजीको अभ्यासमा समेत सहभागी भएका थिएनन्। उनलाई रुघाखोकी र ज्वरो आएको थियो।पीएसजीले घरेलु मैदानमा बुधबार राति डर्टमण्डसँग खेल्दैछ।
पहिलो लेगमा पीएसजी २–१ ले पछि रहेको छ। तर, कोरोनाको कारण खेल दर्शकबिना हुनेछ। फ्रान्समा मंगलबारसम्म कोरोना भाइरसको एक हजार सात सय ८४ सङ्क्रमितहरु भेटिएका छन्। जसमा ३३ जनाको मृत्यु भएको छ भने ८६ मानिसहरु गम्भिर अवस्थामा छन्।